Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

गुरुकुलको लोभलाग्दो थकाइ

विराटनगर- आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यहाँलाई स्वागत छ 'यो साधना गर्ने थलो हो 'यसका केही नियम छन् 'केही नखाइदिनु होला 'मोबाइलको स्विच बन्द गरेर यान्त्रिक आतंक बन्द गरिदिनु होला ...।' नाटक सुरु हुनुअघि आयोजकका तर्फबाट यो आग्रह प्रसारित भयो। ए 'यो त काठमाडौंको सम नाटकघर वा रिमाल नाटकघर त होइन रहेछ। तर, सबै परम्परा उस्तै। यसमा पस्किइने नाटकको स्वाद उस्तै। उस्तै गुणस्तरयुक्त र आफ्नोपनको अनुभूति हुने। गुरुकुलको यो आफ्नोपनले निकै छिटो यहाँ सबैको मन जित्न थालेको छ। स्थानीय साहित्यकारदेखि प्रहरीसम्म, राजनीतिकर्मीदेखि मजदुरसम्मले यो नाटकघरलाई यस क्षेत्रको एउटा अनुपम नमूनाका रूपमा आत्मसात् गर्न थालेका छन्।


नाटकको सशक्त प्रभावको असर बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा देखियो। प्रायः झैझगडा र मुद्दामामिलाले व्यस्त हुने मोरंगको जिल्ला प्रहरी कार्यालयको छतमा एक हुल रंगकर्मी भेला भएका छन्। उनीहरू कुनै मुद्दामामिला लिएर होइन जिल्ला प्रहरी प्रमुखको चियापानको निमन्त्रणा मान्न त्यहाँ पुगेका हुन्। रंगकर्मीहरूलाई स्वागत गर्दै प्रहरी प्रमुख देवेन्द्र सुवेदी भन्छन्, 'समाज परिवर्तन गराउन तपाईंहरूको ठूलो भूमिका छ।' यी प्रहरी अधिकृतले एक महिनादेखि चलिरहेको नाटक महोत्सवमा आउनेहरूको भीडले आश्चर्यचकित भएका रहेछन्। उनी आफैंले केही नाटक हेरे। त्योभन्दा बढ्ता जिल्ला प्रहरी कार्यालयअन्तर्गत आएका धेरै प्रहरीले यो मौका छुटाएनन्। उनी अन्तिम तीन दिन समापन नाटकका रूपमा मंचित 'न्यायप्रेमी' हेर्न चाहन्थे। तर, आन्दोलनका कार्यक्रमले सम्भव भएन। 'केही बेर भए पनि तपाईंहरूसँग बसेर मनलाई आराम दिऔं भन्ने चाहेको हुँ,' सुवेदीले भने, 'यसलाई यहाँहरूले राज्यका तर्फबाट गरिएको सम्मानका रूपमा बुझिदिनु होला। हामी सदैव तपाईंहरूको पछाडि छ।'

सुवेदीले मायाको चिनोका रूपमा गुरुकुलका प्रमुख सुनील पोखरेल र निशा शर्मालाईलाई करुवा उपहार दिए। जवाफमा उनीहरूले प्रहरीलाई पुष्पगुच्छा। न्यायप्रेमीका सबैजसो कलाकार सञ्जीव उप्रेती, दिलभूषण पाठक, विष्णुभक्त फुँयाल, प्रवीण खतिवडा, बसन्त भट्ट, सरिता गिरी, सौगात मल्ल, सुरेश चन्द, रामहरि ढकाल लगायत अन्य नाटकका कलाकारको समेत उपस्थिति थियो। सहरमा एउटा नयाँ परिचय थपिएको छ- गुरुकुल। काठमाडौंमा डेराको समस्याले अल्भि्करहेको गुरुकुलको हाटखोलामा आफ्नै रंगमञ्चसहितको संरचना छ। चारैतिर मन्त्र लेखिएका लुङ्दर र तोरण झुण्डिएका छन्। नयाँ रंगमञ्च हातामा बिरुवा रोपिँदै छन्। एक महिनादेखि यहाँ नाटकको प्रदर्शन हरेक दिन (कहिले दुई सोसमेत) भइरहेको छ। यसबीच यसले 'अग्निको कथा', 'जात सोध्नु जोगीको', 'पुतलीको घर', 'राबाजी लैलै...', .'मायादेवीको सपना', 'छुताहा घैल (मैथिली)', 'डा. कनक' प्रदर्शन गरेको छ। नाटक हेर्ने कामसँगै यहाँका साहित्यकारदेखि राजनीतिकर्मीसम्मलाई भेटघाट गर्ने थलोका रूपमा स्थापित हुन थालेको छ।


यो नाटक घर यहाँको एउटा नयाँ गन्व्यका रूपमा स्थापित भएको छ। देशभित्रका मात्र होइन नाटकप्रेमी विदेशीसमेत एकपटक यहाँ आएर हेर्न थालेको देखियो। झण्डै १२ कठ्ठा जग्गामा फैलिएको यो संरचना निर्माणाधीन छ। र, बनिसकेका संरचनामा पहाड र मधेसको संगमजस्तो बनेको छ। राजधानी काठमाडौंबाट समेत यो मौका नछुटोस् भनेर यसबीच धेरैजना आइसकेका छन्। बिहीबार नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा आइपुगेका थिए भने शुक्रबार काठमाडौं महानगरपालिका पूर्व नगरपिता केशव स्थापित। एकैछिनपछि पूर्वाञ्चल डिआइजी भीष्म प्रसाई आइपुगेका थिए। शान्ति सुरक्षा स्थितिका कारण नाटक हेर्न नभ्याए पनि यहाँको आनन्द अनुभूत गर्न चाहन्थे। गुरुकुलको नाटक महोत्सवको सफलता पहिल्यै दिनबाट सुरु भएको छ। हरेक दिन नाटक हेर्नेहरूको ठूलो भीड छ। दुई सय २० सिट क्षमताको सुशीला कोइराला नाटकघरमा बस्ने ठाउँ नपुगेर अहिल्यैदेखि भुइँमा गलैंचा ओछ्याउनुपर्ने अवस्था आएको छ। 'न्यायप्रेमी' जस्तो गम्भीर नाटक प्रदर्शन भइरहेको बेला समेत 'पिनड्रप साइलेन्स' अनुभव भएको थियो। यसले यस क्षेत्रमा रहेको रिक्तता कम गरेको बताउने धेरै छन्। 'विराटनगर पहिलेदेखि नै साहित्य, संगीतको थलो हो, गुरुकुलले अर्को एउटा केन्द्र थपियो,' नाटक हेर्न बिहीबार आइपुगेका कथाकार परशु प्रधानले भने।


महिना लामो महोत्सवको थकाइबीच गुरुकुलका प्रमुख सुनील पोखरेल साँझ आँगनमा बिरुवा रोप्न निर्देशन दिइरहेका थिए। 'अलि ठूलो घेरा बनाउनुपर्छ,' उनी निर्देश गर्दै थिए, 'हिँड्ने मानिसले यसका पात छुन नपाउन्।'
राजधानीबाहिर गुरुकुलको शाखा खुलेर यहाँसम्म ल्याइपुर्‍याउँदा सुनील थाकेका छैनन्? 'एक महिना बितेको पत्तै भएन,' उनी भन्छन्, 'कल्पना गरेकोभन्दा धेरै राम्रो भयो।' किनभने यस्तो माहोल आउन काठमाडौंमै केही वर्ष लागेको थियो। उनलाई लागेको थियो, अहिलेलाई कम्तिमा पाँच-सात जनामात्र आए पनि धन्य हो। यो सफलताले प्रत्येक वर्ष चैतमा यहाँ काठमाडौंमा देखाइएका राम्रा नाटकको महोत्सव गर्ने योजना बनाउन उनलाई प्रेरित गरेको छ। र, यहाँको नाटक घरले पनि वर्षभरि नाटकको मञ्चन, कविता वाचन र सांगीतिक कार्यक्रमका निम्ति मञ्च उपलब्ध गराइरहने भएको छ। 'थकाइ त लागेको छ, तर यो मजाको थकाइ हो', खुसी हुँदै पोखरेलले भने।

No comments: