Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

नागरिक सर्वोच्चताका केही नमुनाहरु

माओवादीको नागरिक सर्वोच्चता भनेको कुटपीट, लुटपाट र कब्जा मात्रै रहेछ भन्ने प्रमाणित नै भएको छ। नागरिक सर्वोच्चता कायम गर भन्दै तेश्रो चरणको आन्दोलन सुरुभएको मंसिरको दोश्रो हप्ता १०–१८ गते भित्र जम्मा आठ दिनका समाचारका संक्षिप्त हेरियोस्। अध्येताहरुका लागि केही सहयोग होस् भन्ने उद्देश्यले यो पटक एक हप्ताका त्यस्ता विवरणको संक्षिप्त प्रस्तुत गरिएको छ।
एकः झापा
अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गरेको एउटा स्कुल बसमा मंगलबार ढुंगामुढा हानेका छन्। क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष विनोद तिम्सिनाका अनुसार आफ्नो देशव्यापी कार्यक्रमअनुसार महँगो शुल्क लिने विद्यालयका गाडी तोडफोड गर्ने कार्यक्रमबमोजिम ढुंगा हानिएको हो।
बसमा नर्सरीदेखि १० कक्षासम्मका करिब ३० जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ। विद्यार्थी लिएर पश्चिमबाट विद्यालयतर्फ आउँदै गर्दा दमकको इँटाभट्टाचोकनजिकै क्रान्तिकारीले ढुंगा हानेका छन्। बसमा ढुंगा हानेपछि विद्यार्थी आतंकित भएका थिए। उनीहरु हतार–हतार बसबाट ओर्लिएर तितरवितर भएका थिए। बसमा ढुंगा हानेकै कारण अन्य विद्यालयका विद्यार्थी पनि आतंकित भएर विद्यालय गएनन्। सोही त्रासका कारण दमकभित्रका निजी विद्यालय पनि मंगलबार बन्द भएका छन्।
दुईः सुनसरी
मुखमा मास्क र हातमा लाठी, रड लिएका १५–२० जनाको समूहले एक्कासि तोडफोड शुरु गर्छ। रोकिराखेको स्कुल बस हेर्दाहेर्दै पूर्णरुपमा क्षतिग्रस्त हुन्छ। छेउछाउमा भएका विद्यार्थी कहालिँदै र चिच्याउँदै भाग्छन्। छेउछाउका सर्वसधारणसमेत एकाएक बस तोडफोड भएको घटना अचम्म मान्दै हेरिरहन्छन् मात्र। सबै सब फुटाएपछि उक्त समूह नारा लगाउँदै एकाएक गायब भएपछि मात्र थाहा हुन्छ, यी त क्रान्तिकारी पो रहेछन्। एकीकृत नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मंगलबार इटहरीस्थित कोशी सेन्ट जेम्स कलेजको स्कुलबस स्कुलबस तोडफोड गरे। कलेज पुगेर कक्षा कोठामा प्रवेश गर्न नपाउँदै घटना सनेका कतिपय विद्यार्थीहरुको भागाभाग भयो। घटनापछि निजी विद्यालय र उच्चमाविसँग सम्बन्धित संघसंगठनको इटहरीमा बसेको सामूहिक बैठकले तोडफोड कार्य उच्छृंखल र अराजकताको पराकाष्टा भन्दै मंगलबार जिल्लाभरका निजी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको कोशी जेन्ट जेम्स कलेजका संस्थापक टेक खुलालले बताए।
तीनः दाङ
युद्धकालमा कब्जामा लिएको दाङ देउखुरीका भारतमणि शर्माको घर माओवादीले भाडामा लगाएको छ। त्यसबाट माओवादीको घोराही नगर कमिटीले मासिक ४० हजार रुपैयाँभन्दा बढी असुल्दै आएको छ। पाँच दिनअघि दाङ हेकुली गाविसस्थित श्यामेश चौधरीको घरमा सबै अन्नबाली र लत्ताकपडा लुटेर माओवादीको झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेको थियो। घटनालाई माओवादीले नीतिविपरीत भने पनि कार्यकर्ताले भने त्यो र कब्जाको घटनालाई 'किसान विद्रोह' भनेका छन्।
चारः दाङ
माओवादीले ३९ व्यक्तिका जग्गामा उब्जनी भएको ५८ हजार ५ सय मुरीभन्दा बढी धान कब्जामा लिएका छन्। द्वन्द्वकालमा नियन्त्रणमा लिएको जग्गा शान्तिप्रक्रियासँगै फुकुवा घोषणा गरे पनि उनीहरुले ती जग्गाबाट उब्जनी भएको धान कब्जा गर्न थालेका छन्।
माओवादीपीडित संघका अध्यक्ष लोकमणि गिरीका अनुसार धनौटी, हेकुली, मानपुर, हापुर, डुरुवा, पवननगर, हलकार, श्रीगाउँ र पञ्चकुले गाविस तथा तुल्सीपुर नगरपालिका क्षेत्रबाट दुई सातायता धान लुटिएका छन्। धान कब्जा गरिएका जग्गाका धनीहरु सबै सशस्त्र द्वन्द्वकालमा माओवादीबाट विस्थापित हुन्। माओवादीले घरमा भित्र्याइसकेका धान पनि लिएका छन्। त्यति मात्र होइन, बेचिएको धानको सट्टा नगदसमेत लिएका छन्। धान बेचेको ४५ हजार रुपैयाँ पनि लिए' श्रीगाउँ ३, पर्सडुवाका जनार्दन शर्माले भने'– रकम अन्यत्रै खर्च भैसकेको थियो, जसरी पनि दिनुपर्छ भनेपछि ऋण काडेर दिएँ।' धान बेचेर आउन बाँकी ३४ हजार पनि रोकिएको गुनासो उनले गरे।
पाँचः बर्दिया
एकीकृत माओवादीले मौसमी चन्दा नदिएको भन्दै लुटपाट गर्ने र ज्यान मार्ने धम्की दिन थालेको छ। चन्दा नदिएको भन्दै शनिबार १४ गते पाताभार सर्कल निवासी दीपा राणाको करिब २० क्विन्टल धान लुटेका छन्। माओवादीले चन्दा थोरै दिन थालेको भन्दै पशुपतिनगर ७ हरिपुरका नरेश विष्टलाई ज्यान मार्ने धम्की दिएका छन्। लहानु थारु, रामकुमार धिताललगायतले ६० क्विन्टल धान नदिएको भन्दै आफूलाई हातखुट्टा भाँचिदिने धम्की दिएको विष्टले बताए। कर्णाली नदीले घेरिएको राजापुर टप्पुको ११ गाविसमा मौसमी चन्दाले किसान त्रासमय भएको बताउँछन्। माओवादीले नागरिक सर्वोच्चता स्थापित, नयाँ जनसंविधान निर्माण, राष्ट्रिय स्वाधीनताका लागि शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यातउन भन्दै चन्दा माग गरेका छन्।
छ: इटहरी
माओवादी कार्यकर्ताले इटहरीमा जारी 'लडाइँपछि जनता' तस्वीर प्रदर्शनमा मंगलबार (९ गते) रोक लगाएका छन्। माओवादी कार्यकर्ताले प्रदर्शनी रोक्न स्थानीय आयोजक र स्थान उपलब्ध गराउने नगरपालिकाका कार्यकारी अधिकृतलाई धम्की दिएका थिए। उनीहरुले तस्वीर हेर्न छाडेर घर फर्कन दर्शकलाई समेत धम्की दिए पनि उनीहरुले घण्टौं लाइन बसेर तस्वीर हेरे। अवरोधले कार्यक्रम भने रोकिएन। सोमबारदेखि शुरु भएको प्रदर्शनी मंगलबारसम्म आइपुग्दा समाजका हरेक क्षेत्रबाट झण्डै २५ हजार दर्शकले अवलोकन गरेका थिए।
सातः कालिकोट
जिल्लाको नानीकोटस्थित मावि सार्ने विषयमा एमाओवादीका कार्यकर्ताले एमाले समर्थित विद्यार्थीमाथि कुटपिट गर्दा कम्तीमा ५ जना घाइते भएका छन्। घाइते पाँचैजनाको स्थिति गम्भीर छ। घाइते भएकाहरुमा कक्षा १० का भूपेन्द्र, ८ की ममिता, पदमराज, महेश्ा र पदम शाही रहेका गाविस पूर्वअध्यक्ष चन्द्रबहादुर शाहीले बताए।
आठ: बाँके
माओवादी लडकुको पाँचाँै सैन्य डिभिजनका बृगेड कमाण्डर दीपेन्द्र शाह (पुगान्त) लाई प्रहरीले हतियारसहित पक्राउ गरी हिरासतमा राखेको छ। रोल्पास्थित उक्त डिभिजनका कमाण्डर शाहलाई बाँकेको कोहलपुर बसपार्कबाट हतियारसहित शनिबार १४ गते राति नियन्त्रणमा लिइएको हो। आफ्ना चारजना अंगरक्षकका साथ बसपार्क पुगेका शाह एक थान चाइनिज माउजरसहित पक्राउ परेका छन्।
नौः नेपालगञ्ज
बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेर शािन्तप्रक्रियामा सामेल माओवादीले युद्धकालकै स्वरुपमा व्यक्तिको निजी जग्गा कब्जा गर्ने क्रम अझै छाडेको छैन। माओवादी कार्यकर्ताले पछिल्लोपटक बुधबार १० गते नेपालगञ्ज कोहलपुर सडक खण्डमा पर्ने गोल्छा कम्नीको १२ बिघा जग्गा कब्जामा लिएको छ। शान्ति प्रक्रियामा आएयता विगतमा कब्जा गरिएका निजी घर र जग्गासमेत फिर्ता नगरेर माओवादीले शान्ति सम्झौतालाई चुनौती दिइरहेका बेला उसका कार्यकर्ताले एकपछि अर्को गर्दै व्यक्तिका जग्गा कब्जा गरिहेका छन्।
माओवादीसम्बद्ध अखिल नेपाल सुकुम्बासी संघ थारुवान् राज्य समिति, बाँकेको आडबाइमा कब्जा गरिएको सो जग्गा स्व. महेन्द्र गोल्छाको स्वामित्वमा छ। उनीहरुले नजिकको नौ बिघा पर्ती जग्गा पनि नियन्त्रणमा लिएका छन्।
दशः धनगढी
कैलालीको हसुलिया गाविसमा खेत जोतिरहेका पवेरा गाविसका दुईजना सर्वसाधारणलाई वाईसीएलको एक समूहले मरणासन्न हुने गरी कुटपिट गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार हसुलिया गाविस ९ मा खेत जोतिरहेका पवेरा गाविस ९ का शन्तराम चौधरी र हसुलियाकै सन्तोष चौधरीलाई नकावधारी समूहले मरणासन्न हुने गरी कुटपिट गरेको हो। उनीहरुलाई कुटेर नजिकैको खोलामा फालेको अवस्थामा बिहीबार बिहान स्थानीयवासीले फेला पारेका छन्। पीडित आफन्तहरुले उक्त घटनामा वाईसीएलका कार्यकर्ता लालटुटाम चौधरी (अकेला) बुधराम चौधरी (साथी) अर्पण चौधरी, सुदर्शन ठाकुरी र कमल चौधरीलगायतको संलग्नता रहेको आरोप लगाएका छन्। दुवैजनालाई बुधबार (मंसिर १० गते) सेती अञ्चल अस्पताल धनगढी पुर्यांइएको छ। 'मरे भनेर खोलामा फालेका हुन् संयोगले बाँचियो'– घाइते सन्तोष चौधरीले भने।
एघारः धादिङ
धादिङ एमाओवादी कार्यकर्ताको आक्रमणबाट सल्यानकोट गाविस ४ निवासी नेपाली कांग्रेस महासमिति सदस्य एवं पूर्व गाविस अध्यक्ष ४८ वर्षीय हरिबहादुर बस्नेत बुधबार बेलुका गम्भीर घाइते भएका छन्। बस्नेतलाई आक्रमण गर्न तीनजना आएका र एकजनाले खुकुरी हानेका थिए। पीडितको टाउकोमा खुकुरीको गहिरो चोट लागेको छ भने शरीरभरि लठ्ठी र मुड्कीले हानेको नीलडाम छ। बस्नेतको केही मात्रामा मात्र बोल्न सक्ने अवस्थामा जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको र पीडक पक्षको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडित परिवारले आक्रमणमा संलग्नहरुको ज्याकेट र ट्राउजरसमेत ल्याई प्रहरीलाई बुझाएका छन्।
बाह्र: रसुवा
रसुवामा नेपालको तेस्रो सामुदायिक ई–केन्द्रको सूचना तथा सञ्चार मन्त्रालयका अधिकृत गोकुल खड्काले उद्घाटन गरेको पर्सिपल्ट माओवादी धम्कीका कारण बन्द भएको छ। एशियाली विकास बैंक, यूएनडीपीको सहयोगमा सूचना र सञ्चार मन्त्रालयको संयुक्त सहयोगमा नेपालका छ स्थानमा सामुदायिक ई–केन्द्रको स्थापना गर्ने लक्ष्यअनुरुप राजधानीको फुटुङ, इलामको फिक्कलपछि रसुवाको धैबुङ्ग गाविसमा यो सञ्चालनमा ल्याइएको हो।
तर माओवादीले आफूहरुलाई थाहा नदिई खोलिएको भन्दै गाविस–सचिव तथा ई–केन्द्र व्यवस्थापनका अध्यक्ष विक्रम शाही ठकुरीलाई धम्की दिएर बन्द गर्न लगाएपछि केन्द्र आइतबार बन्द भएको हो।
तेह्रः बाँके
माओवादीको भ्रातृ संगठन सुकुम्बासी संघका केन्द्रीय सदस्य तथा थारुवान् राज्य समितिको सो विभागका संयोजक अमर परियारले बाँकेलगायत तीन जिल्लामा १ हजार ५ सय २७ बिघा कब्जा गरेको बताएका छन्। थारुवान राज्य समितिअन्तर्गतका पाँच जिल्लामा एकै दिन जमिनदारको ठूलो क्षेत्रफलको जग्गा कब्जा गर्ने योजना बनाइएकोमा दाङ र कञ्चनपुरमा प्राविधिक कारणले कब्जा गर्न नसकिए पनि बाँके बर्दिया र कैलालीमा गरेर १५ हजार ५ सय २७ बिघा जमिन कब्जा गरेको उनले बताए। केन्द्रीय सदस्य परियारका अनुसार बाँकेमा गोल्छाको २२ बिघा, बर्दियाको ढोढरीमा रहेको प्रतिभा राणाको १ सय ५ बिघा र कैलालीको डुट्रेजरीमा १ हजार ४ सय बिघा जमिन कब्जा गरिएको छ।
चौधः भोजपुर
कांग्रेस भोजपुरका उपसभापति बालकृष्ण थापाको घरमा लुटपाट भएको छ। बुधबार १८ गते पेस्तोल लिएर आएको चार–पाँच जनाको समूहले दुई कोदारमा रहेको घरबाट ४० हजार नगद र झण्डै आठ तोला सुनका गरगहना लुटेर लगेका छन्। लुटेराहरुले आफूहरु माओवादी कार्यकर्ता भएको र चन्दा लिन आएको भन्दै लुटपाट गरेको थापाको परिवारलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। लुटेराको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पन्ध्रः नवलपरासी
माओवादीनिकट अखिल नेपाल किसान संघ क्रान्तिकारीका कार्यकर्ताले नवलपरासीको कावासोती ९ रतौलमा रहेको ६० विघा खेतमा लगाएको धान शुक्रबार कब्जामा लिएका छन्।
संघका जिल्ला सदस्य विष्णु घिमिरेको नेतृत्वमा गएका कार्यकर्ताले पाल्पा घर भएका भरतमान कर्माचार्यको एक सय ५० मुरीभन्दा बढि धान कब्जामा लिएका हुन्। कृषकलाई अधियामा धान लगाउन दिएका कर्माचार्यको भागमा परेको धान पठाउने क्रममा उनीहरुले कब्जामा लिएको स्थानीयबासीले बताए।