Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

'सत्कारको बोझ' बाट सीडीओलाई मुक्त गरिने

किरण भण्डारी, काठमाडौं, मंसिर २- सरकारले जिल्ला भ्रमणमा जाने मन्त्री, संवैधानिक निकाय प्रमुखलगायत भिआइपीको आतिथ्यको बोझबाट सिडिओलाई मुक्त गर्ने भएको छ। कृषिराज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारीलाई कुटेपछि अधिकांश सिडिओले सेवा सत्कारको जिम्मेवारीबाट छुटकारा दिन गृह मन्त्रालयलाई चर्को दबाब दिएपछि सरकार त्यस्तो निर्णयमा पुग्न लागेको हो। सिडिओको काँधबाट पाहुनाको बोझ हटाइदिने व्यवस्था समेटिएको 'विशिष्ट व्यक्तिहरूको आतिथ्य सम्बन्धी निर्देशिका'को मस्यौदा बुधवारको मन्त्रिपरिषद् बैठकमा पेश हुँदैछ। गृहका सहसचिवहरुले तयार गरि सचिवले अनुमोदन गरेको मस्यौदा आइतवार गृहमन्त्री भीमबहादुर रावल समक्ष पेश भइसकेको छ। 'मन्त्रीज्यू निर्देशका तुरुन्त जारी गर्नेगरि लागिपर्नुभएको छ,' प्रवक्ता जयमुकुन्द खनालले भने- 'मन्त्रिपरिषद्को आगामि बैठकमा पेश हुन्छ।'
मन्त्रीको जिल्ला भ्रमणको सम्पूर्ण व्यवस्थापन सम्बन्धित मन्त्रालयको जिल्ला/अंचल/क्षत्रिय कार्यालयले गर्नुपर्ने व्यवस्था निर्देशिकामा प्रस्ताव गरिएको छ। जिल्ला कार्यालय नभएको मन्त्रीको हकमा कार्यक्रम आयोजकले प्रबन्ध गर्नु पर्नेछ। आयोजक गाडी र बसाइँको व्यवस्थापन गर्न असमर्थ रहेको कार्यक्रमको हकमा सिडिओले यातायातको प्रबन्ध गरिदिनुपर्नेछ। त्यस्तो भ्रमणका क्रममा भएको खर्च सम्बन्धित मन्त्रालयबाट शोधभर्ना पाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ। सरकारको कार्यविभाजन नियमावली अनुसार कुनै पनि मन्त्रालयलाई नकिटिएको काम केन्द्रमा गृहले जस्तै जिल्लामा अरु कार्यालयको भागमा नपरेको सिडिओले गर्दै आएका छन्। मन्त्रीको सेवा, सत्कार गर्न कानूनी बाध्यता नभएपनि केन्द्रको प्रमुख जिल्ला प्रतिनिधिका हैसियतले अहिलेसम्म सबै जिम्मेवारी सिडिओले बहन गरिरहनु परेको हो। केन्द्रीय सेवा विभागको 'ह्याङओभर' अन्त्य गर्न निर्देशिका ल्याउन लागेको अर्का सहसचिवले बताएका छन्। गृह मातहत रहेको उक्त विभागले भीआइपीहरुको गाडी, निवास, खानपान, यात्रा सबै प्रबन्ध मिलाउने गरेको थियो।
जिल्लास्तरमा विभागको जिम्मेवारी सिडिओको भागमा पर्थ्यो। भ्रष्ट्राचारको अखडा र मन्त्रालयहरुसँग कामको दोहोरोपना भयो भनी डेढ दशकअघि विभाग खारेज भयो। 'केन्द्रमा मन्त्रालय र जिल्लामा विभागलाई त्यतिबेलाकै शैलीमा काम अह्राइराखिएको छ,' प्रशासन महाशाखाका सहसचिव प्रेमकुमार राईले भने- 'केन्द्रीय सेवा विभागको ह्याङओभर मेटाउन पनि निर्देशिका ल्याउनु परेको हो।' व्यवहारमा जिल्ला प्रशासनको सर्वोच्चता कायम गर्न सिडिओले विकासे/राजस्व/जनसम्पर्क कार्यालयसँग हात थाप्नु पर्ने अवस्था अन्त्यका लागि यथोचित बजेट माग गरी पुरक प्रस्ताव निर्देशिकाका साथै मन्त्रिपरिषद् जाने भएको छ। 'प्रशासन मगन्ते कार्यालय भइरहेको छ,' छ जिल्लाका सिडिओ रहिसकेका खनालले भने- 'अरु कार्यालयहरुसँग पैसा माग्नुपर्ने भएपछि सिडिओले उनीहरुले गरेका गलत कामको पनि नजरअन्दाज गर्नुपर्ने अवस्था छ।'
गृहका अनुसार अतिथि सत्कार शिर्षकको बजेट कुनै पनि जिल्लामा महिनाको तीन हजार भन्दा बढि छैन। दर्जनौ कानूनको अधिकार प्रयोग गर्ने सिडिओका अध्यक्षतामा प्रशासन कार्यालयमा हुने बैठकमा एक साता चिया खुवाउन पनि बजेट अपुग भएको दावी उनीहरुको छ। मन्त्रिपरिषद्ले एक महिना अघि बनाएको मन्त्रीहरुको भ्रमण सम्बन्धी सात बूँदे परिपत्र हुबहु पालना भएमात्र प्रस्तावित निर्देशिका कार्यान्वयन सम्भव हुने ठहर गृहले गरेको छ। दशैँतिहारमा घर गएका मन्त्रीहरुले आफ्नो र कार्यकर्ताको हवाई टिकट, होटल, यातायात खर्च समेटी हजारौको बिल पेश गरेपछि मन्त्रिपरिषद्ले भ्रमण संहिता बनाएर परिपत्र गरेको हो। सात बूँदेमा भ्रमण कार्यक्रम प्रधानमन्त्रीसँग पूर्व स्वीकृति, टोलीमा तीन जनाको सीमा, तीन दिन भन्दा लामो नहुने, एकै जिल्लामा महिनाको दुईपटक भन्दा बढी नजाने, सम्भव भएसम्म सरकारी अतिथि गृहमा बस्ने, भ्रमणबाट फर्केपछि प्रतिवेदन पेश गर्नुपर्ने लगायत व्यवस्था छ।

डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं, मंसिर २- नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बढाएको हो। मूल्यवृद्धि पछि डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर ५८ रुपैयाँ पुगेको छ। यसअघि दुवै पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य ५५ रुपैयाँ थियो। अन्तराष्ट्रिय बजारसँग मूल्य समायोजन नहुँदा भइरहेको घाटा पूर्तिका लागि भाउ बढाउनुपरेको निमगले जनाएको छ।नोभेम्बरसम्म निगमको मासिक घाटा २० करोड रुपैयाँ छ। एलपी ग्याँस, हवाइ इन्धन र पेट्रोलको मूल्य यथावत छ। हिजो सोमबार बसेको निगमको बोर्ड बैठकले मूल्य बढाउने निर्णय गरेको हो।

कृषिराज्यमन्त्री हँसिमजाकको पात्र

मंसिर २- मन्त्रीहरू तयारीबिनै औपचारिक कार्यक्रममा बोल्दा कहिलेकाहीँ हँसीमजाकको पात्र बन्नुपर्छ। यसको पछिल्लो उदाहरण बनेकी छन्, कृषि राज्यमन्त्री करिमा बेगम। कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले 'तराईमा समेत खेती विस्तार गर्न' निर्देशन दिएकी थिइन्। उनले मन्त्रालय मातहतको चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिँदै भनिन्, 'पहाडमा मात्र होइन, तराईमा पनि कफी खेती विस्तार गर्नुस्।' मञ्चमा उभिएकी कृषि राज्यमन्त्रीले कफीको भौगोलिक विशेषता नबुझी यस्तो भन्दा दर्शकदिर्घामा रहेका वरिष्ठ कृषि अधिकारी, प्राविधिक तथा अन्य सहभागी लाजले रातो भएका थिए।

समुद्री सतहभन्दा आठ सय मिटरमाथिको उचाइमा मात्र कफी खेती हुन्छ। नेपालको तराई क्षेत्र बढीमा २ सय मिटर उचाइमा छ।कफी दिवसको कार्यक्रममा बोल्नुपर्छ भन्ने पहिल्यै थाहा पाएका राज्यमन्त्रीले कम्तीमा मातहतका अधिकारीसँग सामान्य परामर्शमात्र गरेर आएका भए पनि यस्तो गल्ती हुने थिएन।
मन्त्रीले आफ्नो भनाइ राख्नेबित्तिकै राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको सभाकक्षमा गाइँगुइँ चलेको थियो। मन्त्रीजस्तो पदमा बसेका व्यक्तिले आफ्नै मन्त्रालय सरोकारको विषयमा जथाभावी बोल्नुले छवि नराम्रो हुने सहभागीहरूले टिप्पणी गरे। 'मन्त्री भन्दैमा सबै कुरा थाहा पाउनुपर्छ भन्ने छैन, तर कम्तिमा थाहा नभएको कुरा कर्मचारीहरूलाई सोध्नु त पर्छ,' कृषि मन्त्रालयकै एक उच्च अधिकारीले भने।
राष्ट्रिय कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीका अनुसार तराईमा कफीको व्यावसायिक खेती हुन सक्दैन। नेपालमा अरेबिका जातको कफी मात्र उत्पादन हुन्छ। मध्यपहाडी भेगबाहेक अन्त यसको खेती राम्रो हुँदैन। मन्त्री बेगमले भनेजस्तै बढी गर्मी हुने तराईमा कफी रोप्दा उत्पादनै नहुने व्यवसायीहरू बताउँछन्।

'आठसय मिटरभन्दा माथि र एकहजार ६ सय मिटरसम्मको उचाइमा मात्र कफी राम्रो हुन्छ,' भण्डारीले भने, 'गर्मी ठाउँमा यसको खेती हुँदैन भन्ने उदाहरण भारत र श्रीलंकाबाट लिन सकिन्छ।''गर्मीमा रोप्दा दाना थोरै लाग्छ र क्याफिनको मात्रा धेरै हुन्छ,' भण्डारीले भने। बढी क्याफिन स्वास्थ्यलाई हानिकारक मानिन्छ। पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आएकी बेगम झण्डै एक सातापछि सार्वजनिक कार्यक्रममा देखिएकी हुन्। उनी कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा 'विशेष अतिथि' बनेर आएकी थिइन्। उनले तराईमा कफी खेती विस्तारका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री विजय गच्छदारलाई आग्रहसमेत गरेकी थिइन्। 'म त क्याबिनेट बैठकमा जान सक्दिनँ, उहाँमार्फत् ध्यानाकर्षण गराउन चाहन्छु,' गच्छदारप्रति संकेत गर्दै उनले भनिन्।
आफूलाई बिहान उठ्नेबित्तिकै कफी चाहिने पनि उनले बताइन्। 'मलाई बिहान उठ्नेबित्तिकै बेडमै कफी र चिया चाहिन्छ,' उनले भनिन्। बेगमको भनाइले गच्छदारको समेत चित्त बुझेनछ। उनले बेगमको भनाइ सच्याउँदै भने, 'कफीलाई पश्चिममा मात्र नभएर पूर्वमा पनि विस्तार गर्न कार्यक्रम सुरु गर्नुपर्‍यो।' विज्ञहरू भने नेपालको पूर्वाञ्चल विकास क्षेत्र कफीभन्दा चियाको निम्ति उपयुक्त ठहरिएको बताउँछन्।
'बढी पानी पर्ने र बढी चिसो हुने ठाउँमा पनि कफी फस्टाउँदैन,' भण्डारीले भने, 'चिसोमा कफीको जरा कुहिन्छ।' नेपालमा १९९५ सालमा गुल्मीबाट कफी खेती सुरु भएको हो। पश्चिमको गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, काभ्रे, नुवाकोट, रसुवा लगायत जिल्लामा कफी खेती भैरहेको छ। पूर्वाञ्चलका ओखलढुंगा, रामेछाप, इलाममा पनि विस्तार गर्न संभाव्यता अध्ययन भैरहेको छ।