Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

मन्त्राणीको राइँदाइँ

काठमाडौं। मन्त्रालयमा मन्त्रीको भन्दा पनि मन्त्राणीहरूको हैकम बढी हुन थालेको चर्चा कर्मचारीहरूले गर्न थालेका छन्। स्रोतका अनुसार विशेषगरी नेपाली कंाग्रेसका दुई मन्त्री बालकृष्ण खाँड र डा. प्रकाशशरण महतको मन्त्रालयमा मन्त्राणी हावी हुन थालेका छन्। सिँचाइमन्त्री बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडले हालसालै सिँचाइ विभागका तीन दर्जनभन्दा बढी इन्जिनियर र ओभरसियरको सरुवामा मोटो कमिसन लिएको चर्चा विभाग परिसरमा हुने गरेको छ। माओवादी नेतृत्वको सरकारले बढीभन्दा बढी जनतालाई रोजगारी दिने र बढ्दो नदी कटान नियन्त्रण गर्ने उद्देश्यले ल्याएको जनताको तटबन्ध कार्यक्रमका सातवटा फिल्ड कार्यालयका लागि काजमा सरुवा गर्ने क्रममा मन्त्राणी खाँडले निकै ठूलो मोलमोलाइ गरेको स्रोतले जनाएको छ। आस्थाका आधारमा वामपन्थी निकट भएकाहरूलाई भेदभाव गरी अवसरवादी, भ्रष्ट र कांग्रेसको खोल ओढेकाहरूले मात्र मौका पाएका छन्। मन्त्राणी खाँड र मन्त्री महतका स्वकीय सचिव जन्मजय तिमिल्सिनाको योजनामा शुभलाभकै आधारमा सीडीई, इन्जिनियर र ओभरसियर खटाइएको स्रोतले जनाएको छ। जनताको तटबन्ध कार्यक्रमको फिल्ड कार्यालय झापामा सूर्यदेव थापा, चितवनमा प्रदीप थापा, दाङमा मोहन संग्रौला, बुटवलमा श्यामबहादुर कार्कीलगायतका सीडीईलाई खटाइएको छ। मन्त्राणी खाँड हरबखत गाडी लिएर होटलहरूमा भ्रष्ट सीडीईहरूसँग मोलमोलाइ गर्न व्यस्त रहने गरेको स्रोतले साँघुलाई बतायो। सीडीई खटाउँदा कसले बढी शुभलाभ टक्र्याउँछ, मन्त्राणी खाँडले उसैलाई प्राथमिकतामा पारेको चर्चा छ। भ्रष्टाचारमा बदनाम सीडीई र इन्जिनियरहरूले नै मन्त्राणीलाई खुसी पारेकाले जाने मौका पाएका छन्।
त्यस्तै, ऊर्जामन्त्री प्रकाशशरण महतकी पत्नी विना महतले पनि विद्युत् प्राधिकरणका नियुक्ति, सरुवा–बढुवा र ठेक्कापट्टामा निकै चासो दिने गरेको चर्चा छ। मन्त्राणी महतको हस्तक्षेपका कारण दशैंको मुखमा तीन तहको क्लर्कको परीक्षाफल प्रकाशित गर्ने क्रममा लाखौं पैसा खाएर पार्टीका कार्यकर्ताको नाम ननिकालेको आरोप मन्त्री डा. महतमाथि लाग्ने गरेको छ। मन्त्रीपत्नी विना महतको हस्तक्षेपका कारण प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झासमेत निकै तनावमा परेको गुनासो आफ्ना निकटस्थहरूसँग गर्न थालेका छन्। मन्त्रीपत्नी महत र मन्त्रीका स्वकीय सचिव प्रबल अधिकारी पाँचतारे होटलमा बसेर प्राधिकरणका हाकिमहरूलाई बोलाएर दबाब दिने गरेको गुनासो पनि केही हाकिमहरूले गर्न थालिसकेका छन्।
यसैबीच मन्त्रीपत्नीकै दबाबमा गिरी थरका एक पत्रकारलाई डकुमेन्ट्री बनाउने बहानामा चमेलियागार्ड आयोजनाबाट चार लाख भुक्तानी दिइएको छ। निर्माणाधीन उक्त आयोजनाका प्रमुख केशवराज भट्टले मन्त्राणीको आदेशमा डकुमेन्ट्री बनाउन ती पत्रकारलाई चार लाख रुपैयाँ उपलब्ध गराएका हुन्। दार्चुलामा निर्माण हुने उक्त परियोजनाका प्रमुख भट्टले पनि आफ्नो पद बचाउन उक्त डकुमेन्ट्रीको भुक्तानी दिन बाध्य भएको बताउने गरेका छन्। कांग्रेसको महासमिति बैठकको अन्तिम दिन २०६६ कात्तिक १८ गते अर्घाखाँचीका एक महासमिति सदस्यले ऊर्जामन्त्री डा. महतले विद्युत् प्राधिकरणमा व्यापक भ्रष्टाचार गरेकाले उनलाई तत्काल कारबाही गर्नु पर्ने माग गरेका थिए। महासमितिको बैठकमा मन्त्री मध्ये सबैभन्दा बढी आलोचना डा. महत र खाँडकै भएको थियो। उनीहरूले पार्टीका कार्यकर्ताको काम नगरी पैसा खाएर नियुक्ति र सरुवा–बढुवा गरेको आरोप अधिकांश कार्यकर्ताले लगाएका थिए।
गाडी दुरुपयोग
यसैबीच, ऊर्जामन्त्री डा. महतले प्राधिकरण र मध्यमर्स्याङ्दी आयोजनाका गरी सातवटा भन्दा बढी गाडी दुरुपयोग गरेका छन्। मन्त्री महतले प्राधिकरणबाट बा३च ४०५२, बा६च १०२६, बा३च ४०५३ र बा३च२५१८ नम्बरका गाडी दुरुपयोग गर्दैआएका छन्। मन्त्रालयले मध्यमर्स्याङ्दी आयोजनाबाट पनि २०६६ असोज ६ गते बा५च३५५५, बा६च ६७४०, बा२च २९२५ नम्बरका गाडी लिएका छन्। ती गाडी कसले प्रयोग गरेका छन् भन्ने कुरा प्राधिकरण र ऊर्जा मन्त्रालयले स्पष्ट जवाफ दिन सकेका छैनन्। मध्यमर्स्याङ्दीका गाडीले त अझ दुवैतिरबाट इन्धन सुविधा लिने गरेको स्रोतले जनाएको छ।

No comments: