Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

धनाढ्यको पंक्तिमा तीन कमरेड

काठमाडौं। नेकपा (माओवादी) का चारजना नेताहरू धनाढ्यको सूचीमा समावेश भएका छन्। पार्टीले आर्थिक गठन गरेको आर्थिक छानबिन समितिमा परेको उजुरीको आधारमा माओवादीमा चारजना नेता धनाढ्य कहलिएका हुन्। त्यसरी धनाढ्य सूचीमा समावेश हुने नेताहरूमा जनार्दन शर्मा 'प्रभाकर', दीनानाथ शर्मा, वर्षमान पुन 'अनन्त' रहेको कुरा माओवादी सूत्र बताउछ । जनार्दन शर्माको आर्जन अपारदर्शी रहेको, जनमैत्री अस्पतालमा चार करोड रुपैयाँको शेयर हालेको, मुनलाइट टेलिभिजन, नेपाल एफएममा लाखौं रुपैयाँ लगानी गरेको पार्टीले गठन गरेको छानबिन समितिमा उजुरी परेको बताइन्छ। सो लगानीको स्रोत छानबिन हुनुपर्ने माग उजुरी गर्नेकर्ताहरूले गरेका छन्। उता, अनन्त (वर्षमान पुन) ले पनि हालै ललितपुरमा घर खरिद गरेको पार्टीमा उजुरी परेको सूत्र बताउछ। उक्त घर आफन्तको भनी नेता अनन्तले बताए तापनि अहिलेसम्म घरको मूली फेला नपरेको कारणले गर्दा उक्त घर अनन्तले नै खरिद गरेको उजुरी पार्टीमा परेको छ। उता, माओवादीका प्रवक्ता दीनानाथ शर्माले आर्जन गरेको रकम आफ्नो ज्वाइँ शुभशंकर कँडेलका नाममा एबीसी टेलिभिजनमा लगानी गरेको उजुरी पार्टीमा परेको कुरा माओवादी सूत्र बताउछ ।
त्यसो त, धेरैजसो माओवादी शीर्ष नेताहरूको विरुद्ध अवैधानिक रुपमा सम्पत्ति आर्जन गर्ने भनी उजुरी परेको छ। पार्टी निकट स्रोतका अनुसार माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्ष डा. बाबुराम भट्टराई र सीपी गजुरेलको विरुद्ध मात्र कुनै उजुरी परेको छैन। पार्टीमा परेको उजुरीको बारेमा निष्पक्ष रुपमा छानबिन हुनुपर्ने माग जोडदार रुपमा उठेको छ। पार्टीको शीर्ष नेताहरूले गरेको आर्थिक अराजकताको अन्त्य गर्न नसकेमा सिंगो पार्टी नै आर्थिक अराजकताको खाडलमा जाकिने आवाज कार्यकर्ता पंक्तिबाट उठेको छ। पार्टीका नेताहरूको विरोधमा परेको उजुरी छानबिन हुने/नहुने भन्नेबारेमा यकिन हुन भने अहिलेसम्म सकेको छैन।

No comments: