Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

मन्त्रिपरिषदद्वारा नोवेल पुरस्कारका लागि कोइरालाको नाम सिफारिस, तोरण जङ्गबहादुर सिंहलाई बलाधिकृत रथीमा बढुवा

काठमाडौं, पुस ९। मन्त्रिपरिषदको आज बसेको बैठकले काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई नोवेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरवारमा बिहीबार विहान बसेको बैठकले शान्तिप्रक्रियामा कोईरालाले गर्नुभएको योगदानका कारण उहाँलाई नोवेल शान्ति पुरस्कारको लागि सिफारिस गरेको जनाईएको छ।
यसैगरि मानव अधिकार उल्लंघन गरी द्वन्द्वकालमा भैरवनाथ गणबाट ४९ जना बन्दी बेपत्ता पारेको आरोप लागेका नेपाली सेनाका उपरथी तोरण जङ्गबहादुर सिंहलाई बलाधिकृत रथीमा बढुवा गर्र्ने निर्णय गरेको छ। विवादित सिंहलाई वढुवा नगर्न राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार उच्चायुक्तको कार्यालयलगायतका दुतावासदेखि अन्तराष्ट्रिय संघ संस्थाको विरोधको वावजुत पनि सरकारले बढुवा गरेको छ। बलाधिकृत रथीका रुपमा बढुवा भएपछि उनी नेपाली सेनामा प्रधानसेनापति छत्रमानसिंह गुरुङपछि दोस्रो वरियतामा रहने छन्। रुक्माङगद कटवाल प्रधानसेनापति हुँदा दोस्रो वरियतामा रहेका कुलबहादुर खड्काको अवकाशपछि यो पद खाली रहेको थियो। यद्यपि, प्रधानसेनापति अमेरिका र भारतको भ्रमणमा जाँदा कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी सरकारले सिंहलाई नै सुम्पेको थियो।
यसैगरी बैठकले अनमीनको म्याद ६ महिना थप्ने निर्णय गर्नुका साथै अछाममा आफ्नै सहकर्मीद्वारा बलात्कृत सुन्तली थामीको घटना छानवीन गर्न छानवीन समितिको गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले रुकुमकी पत्रकार टीका विष्टलाई उपचारस्वरुप तीन लाख रुपैंया सहयोग गर्ने निर्णय गरेको छ।बढुवा भएका रथी सिंहमाथिको भैरवनाथ गण सम्बन्धी विवादबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामचन्द्रमान सिंहको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले छानविन गरी सफाई दिएकाले उहाँको बढुवा भएको बताइएको छ। यसैगरी प्रधानमन्त्रीको यही पुस ११ गतेदेखिको चीन भमणका लागि २५ जनालाई सरकारी खर्चको व्यवस्था गर्ने र आफ्नै खर्चमा जाने गरी जम्मा ३६ जनालाई भ्रमण टोलीमा समावेश गरिने निर्णय भएको छ।

यसरी हप्काइए प्रचण्ड

जातीय गणराज्यहरू एकतर्फी रूपमा घोषणा गर्नेक्रममा पुस १ मा वसन्तपुरबाट नेवाः गणराज्य घोषणा गरेपछि दङ्ग परेका माओवादी अध्यक्ष प्रचण्डको खुसी दुई दिन पनि टिक्न सकेन। गणराज्य घोषणा गरेर विजयोत्सव मनाएका प्रचण्डलाई पुस २ गते जब कसैको फोन आयो, उनी नराम्रोसाग भस्किए र कालोनिलो भए। पार्टी काममा व्यस्त रहेका बेला सााझ अध्यक्ष प्रचण्डलाई एक्कासि फोन आयो। उताबाट के भनियो बुझ्न सकिएन तर प्रचण्डले झस्किएर जवाफ फर्काउनुभयो, वहतो कमिक था। ऐसा बात नहीं है।' माओवादी अध्यक्ष प्रचण्डले जवाफ फर्काएको सुनेर उहााको वरिपरि रहेकाहरूका कान ठाडा भए। किनकि प्रचण्डको हाउभाउ हम्मेसी झस्केको भावमा देखिादैनथ्यो सबैका सामुन्नेमा। त्यसलगत्तै बाहिरसमेत सुनिनेगरी उताको आवाज आयो, 'अगर कमिक है तो जहाा भारत लिखा था वहाा चाइना लिखकर एकबार देखाओ।' जवाफमा प्रचण्ड बोल्न सक्नुभएन। उहाा अकमकिनुभयो। उताबाट आवाज आयो, 'हमरा राष्ट्रिय झण्डाका इस तरह अपमान गर्नेका अधिकार आपको किसने दिया? राष्ट्रिय झण्डाको अपमानका मतलब क्या हो सकता है, आप समझ ते हो?' प्रचण्डलाई एक्कासि हप्काउने को होलान्? प्रचण्ड निकटस्थ स्रोतका अनुसार उहाालाई हप्काउने अरू कोही नभएर भारतीय गुप्तचर संस्था 'रअ' का केसी बर्मा भएको बुझिएको छ। बुझिएअनुसार वसन्तपुरमा आयोजित गणराज्य घोषणा कार्यक्रममा माओवादी कार्यकर्ताले भारतीय अपमानपूर्वक फालेको दृश्यबाट आक्रोशित भएका बर्माले प्रचण्डसाग टेलिफोनमा आक्रोश पोखेका थिए। तर, केही बोल्न खोज्नुभएका प्रचण्डले राम्रोसाग जवाफ फर्काउन पाउनुभएन। उतैबाट टेलिफोन राखियो। वसन्तुपरमा माओवादीले देखाएको नेपाली नक्सामा अमेरिकाप्रति लक्षित गरी चिलले तानिरहेको र भारततिर लक्षित गरी बुट बजारेको दृश्य थियो। गीतकै क्रममा माओवादीका कार्यकर्ता कलाकारले भारतीय हस्तक्षेपको प्रतीकात्मक विरोध गर्दै झण्डा फालेका थिए। र, यो दृश्य हेरेर प्रचण्ड मुस्कुराइरहेका थिए। त्यही दृश्यको भिडियो रअको हेडक्वार्टरमा पुगेपछि भारतीय अधिकारीहरू आक्रोशित भएको र आक्रोशको केन्द्र माओवादी अध्यक्ष प्रचण्ड बन्नुभएको थियो।

कोइरालाको नाम नोबल शान्ति पुरस्कारका लागि सिफारिश

मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नाम सिफारिश गर्ने निर्णय गरेको छ। त्यसैगरी मानवअधिकार उल्लंघनको आरोपमा बढुवा नगर्न दबाब परिरहेका नेपाली सेनाका उपरथी तोरण जंगबहादुर सिंहलाई पनि बढुवा गर्ने निर्णय सरकारले गरेको छ।

घाइते डीएसपीलाई दाहालपत्‍नी र हिसिलाले भेटे

पुस ९- आमहड्तालको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक दिलीप चौधरीमाथि नियोजित आक्रमण गरेको आरोप लागेको एकीकृत माओवादीका दुई नेतृ बुधबार जुस र फलफूल बोकेर उनको स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगे। न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका चौधरीसँग भलाकुसारी नभए पनि उनीहरूले पत्नीलाई भेटे र पार्टीको पार्टीको सन्देश सुनाए।हातमा फलफूल र जुस बोक्दै आक्रमणमा पार्टी संलग्न नभएको सन्देश बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता र माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईकी पत्नी तथा माओवादी नेतृ हिसिला यमी बुधबार छुट्टाछुट्टै अस्पताल पुगेका थिए। अस्पताल स्रोतका अनुसार यमी बिहानै पाँच सयको दुई बट्टा जुस किनेर अस्पताल पुगेकी थिइन् भने सीता मध्याह्न ११ बजे फलफूल बोकेर।

माओवादी आमहड्तालको पहिलो दिन नयाँ बानेश्वर क्षेत्रको कमान्ड सम्हालिरहेका चौधरी अल्झेर लडेपछि प्रदर्शनकारीले इँट्टा र रडले हानेर मरणासन्न पारेपछि प्रहरीका उच्च अधिकारीले आक्रमण नियोजित भएको बताएका थिए। चौधरी भेट्न पुगेका नेतृले भने आक्रमणमा पार्टी संलग्न नभएको परिवारलाई बताए। यमी पुग्दा चौधरी निदाएकाले कुराकानी भएन। स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट क्याबिनमा सारिएका उनलाई टाढैवाट हेरेर यमीले पत्नीसँग उनको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिइन्। जुस चौधरी पत्नीलाई दिँदै उनले भनिन्, 'अहिले कस्तो छ?' प्रतिउत्तरमा पत्नीले पहिलाभन्दा सञ्चो भएको बताइन्।

अस्पताल स्रोतका अनुसार यमीले चौधरीमाथि भएको आक्रमणप्रति दुःखमनाउ गरेकी थिइन्। उनले भनिन्, 'माओवादीले नियोजित रूपमा आक्रमण गरेको भन्दै प्रचार भएको छ, तर उहाँमाथि हाम्रो पार्टीले आक्रमण गरेको हैन, त्यो दुर्घटना मात्र हो।' उनले घटना अत्यन्त दुखपूर्ण रहेको बताउँदै चाँडै सञ्चो हुन शुभकामना दिइन्। माओवादी अध्यक्ष दाहाल आफैं चौधरीको स्वास्थ्य अवस्थाबारे बुझ्न जाने चर्चा भए पनि करिब ११ बजे दाहालपत्नी सीता अध्यक्षको सन्देशबाहक बनेर अस्पताल पुगिन्। चिकित्सकहरूले घाइते चौधरीलाई कुरा नगर्न सचेत गराएकाले सीताले चौधरीपत्नीसँगै भलाकुसारी गर्दै अध्यक्ष दाहालको सन्देश सुनाएकी थिइन्। अस्पताल स्रोतका अनुसार सीताले घटनाप्रति दुखमनाउ गर्दै 'अध्यक्ष दाहालले शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ' भनेर सन्देश सुनाइन्। प्रहरीले बानेश्वर घटनाको अनुसन्धानका लागि मंगलबार कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरणकुमार गौतमको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो।

दुई दिन आइसियुमा राखेर हालै क्याबिनमा सारिएका चौधरीको स्वास्थ्यमा सुधार आइरहेको छ। धारिलो हतियार प्रहारबाट टाउकोमा छवटा गम्भीर चोट लागेका चौधरीको शल्यक्रिया गरी ४५ वटा टाँका लगाइएकाले उनी बोल्न सक्ने अवस्थामा छैनन्। आफन्तका अनुसार टाउकोभरि पट्टी बेरिएका उनी बोल्दा दुख्ने भएकाले घाउ निको नभएसम्म नबोल्न चिकित्सकहरूले सुझाव दिएका छन्। चौधरीले परिवारका सदस्यसँग सामान्य कुराकानी गर्ने गरेका छन्। परिवारका अनुसार बुधबारदेखि चौधरीले खाना खान सुरु गरेका छन्।

नक्कली नोट छाप्ने कारखानामा प्रहरी छापा

ठूलो संख्यामा नेपाली र भारतीय नोट बरामद, भारतीय नागरिक पक्राउ-
काठमाडौँ, पुस ९ (नागरिक)- ललितपुरको बाँडेगाउँमा नक्कली नोट छाप्ने कारखानामा प्रहरीले छापा मारेको छ। घटनास्थलमा ठूलो परिमाणमा नेपाली तथा भारतीय नोट र नक्कली नोट छाप्ने मेसिननसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको नागरिकन्युजकर्मी केपी ढुंगानाले महानगरीय प्रहरी आयुक्तका प्रमुख मदन खड्कालाई उद‍धृत गर्दै जनाएका छन्। एआईजी खड्काका अनुसार विशेष सुराकीका आधारमा ललितपुर प्रहरी परिसरका एसपी विक्रम थापाको कमान्डमा घटनास्थललाई चारैतिरबाट घेरा हाली प्रहरीले छापा मारेको थियो। घटनास्थलबाट प्रहरीले भारतीय नागरिक जहाँगिर सेख हकितलाई नियन्त्रणमा लिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको र भोलि पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने बताएको छ।

चर्को भाषण प्रहसनमा सीमित

माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय शक्तिहरूसँग नगरी सोझै नयाँ दिल्लीसँग वार्ता गर्ने र त्यसको सुरूवात् मंगलबार नयाँ बानेश्वरको जनसभाबाट भएको घोषणा गरेको केही घन्टामै आफूलाई सच्याउन बाध्य भएका छन्। उनले विदेशीका 'नोकर, कठपुतली र रोबोट' नामले पुकारेका प्रधानमन्त्रीसँग केही घन्टाभित्रै भेटवार्ता गरेर जनमानससामू गरेको चर्को भाषणलाई आफैं व्यंग्य गरेका छन् र भेटवार्तालाई गोप्य राखेर नागरिक सर्वोच्चताका नाममा नागरिकलाई अन्धकारमा राख्न खोजेका छन्। आफ्नो राष्ट्रियताविरोधी घोषणा जिम्मेवार, सम्मानजनक र आकर्षक रूपमा फिर्ता लिने साहस भने उनले गरेनन्। बरू आफ्नो अभिव्यक्तिलाई गलत तरिकाले बुझिएको टिप्पणी गर्दै उनले भारतसँग वार्ता गर्ने घोषणालाई परोक्षरूमा फिर्ता लिएका छन्।

केही घन्टा पनि टिक्न नसक्ने भाषण गर्नु र त्यस्तो भाषण गर्न पार्टीको नेतृत्व पंक्तिबाट भारतविरोधी नीति पारित गर्नु माओवादीको अपरिपक्व र उत्तेजक व्यवहार हो। यसको सिकार माओवादी आफैं भएको छ। बानेश्वर आमसभामा सरिक हजारौंहजार कार्यकर्ता/समर्थक र त्यसको समाचार हेर्ने लाखौं नागरिकले देखे-सुनेको आफ्नो भाषणलाई अध्यक्ष दाहालले एउटा प्रहसनमा सीमित गरिदिएका छन्। नेपालका शक्तिहरूले निर्णय गर्न नसकेको भन्दै भारतसँग वार्ता गर्ने भनेर आफूले गरेको घोषणा व्यंग्यात्मक टिप्पणीमात्र भएको उनले स्पष्टीकरण दिन खोजेका छन्। यसबाट उनी हलुका साबित भएका त छन् नै, संविधानसभाको ठूलो दलका प्रमुख नेताको विश्वसनीयता पनि पिँधमा पुर्‍याइदिएका छन्।

विशाल जनसभा देखेर उनी बहकिएका पनि पक्कै होइनन्। उनको पार्टीले सत्ता समीकरण फेर्न नयाँ दिल्लीलाई दबाव दिनुपर्ने आशयसाथ 'राष्ट्रियता'को मुद्दालाई प्राथमिकता दिने हालैमात्र निर्णय गरेको थियो। नेपाली राष्ट्रियतालाई भारत विरोधका रूपमा विकास गर्न चाहने पञ्चायतकालीन दर्शनसँग मिल्दो धारणा प्रकट गरेर दाहालले जुन वैचारिक दरिद्रता र सचेत तथा जागरूक नेपालीको हुर्मत लिन खोजेका थिए, त्यो बेलुनको हावा खुस्केको मात्र हो। दिल्ली जाने आकाशे फल पन्छाएर संसदमा फर्किने व्यावहारिक निर्णयमा माओवादी पुग्ने निर्णय जिम्मेवारपूर्ण छ। तिनले अब संविधानसभा र व्यवस्थापिकामार्फत आफूलाई ठूलो दलको दायित्वपूर्ण भूमिकामा समर्पित गर्न सक्नुपर्छ। उत्तेजक सडक भाषणबाट न संविधान बन्छ, न नयाँ नेपाल बन्छ, न नेपाल सार्वभौम हुन सक्छ, न नागरिक स्वतन्त्रता कायम हुनसक्छ।

राष्ट्रपतिको कदमबारे छलफल गर्न नपाउनु माओवादीको प्रमुख समस्या हो भने त्यसका लागि सरकारविरूद्ध संकल्प प्रस्ताव ल्याउने संवैधानिक बाटो खुला छ। अन्य संवैधानिक तथा राजनीतिक उपाय पनि पहिल्याउन सकिन्छ, त्यसका लागि उसले संविधानसभाजस्तो ऐतिहासिक जननिर्वाचित थलोकै आश्रय लिनुपर्छ, विदेशको होइन। आन्तरिक रूपमा बलियो लोकतान्त्रिक देशको मात्र राष्ट्रियता बलियो हुन्छ, त्यस्तो देशको मात्र राष्ट्रिय स्वाधिनता स्थापित हुनसक्छ र त्यस्तो देशमा मात्र नागरिक सर्वोच्चता कायम हुन सक्छ भन्ने ख्याल गर्नु माओवादीका लागि अपरिहार्य छ। संविधानसभाका विषयवस्तुप्रति मात्र जागरण अभियान अहिलेको आवश्यकता हो। संविधानसभाभित्रै सभासद्हरूको कठिन परिश्रमसहितको गृहकार्य र छलफल अर्को आवश्यकता हो, न कि जनताले कष्ट पाउने राष्ट्रिय आम हड्ताल। माओवादी उत्तेजनाको चरम विन्दुबाट संसदतर्फ फर्किएको छ। यो उसको स्वीकारोक्ति हो भने नेपाली राष्ट्रियता र लोकतन्त्रका लागि यो सुखद् सन्देश हो।