Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

सीडीओ पिट्नुको कारण 'व्यक्तिगत पनि'

काठमाडौँ, कात्तिक २५ - कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारीमाथि गरेको हातपातको विरोधमा सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। राज्यमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्दै नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी महासंघले बुधबारदेखि आन्दोलन थालेका छन्। संगठनले आज दिउँसो कृषि मन्त्रालय घेराउ गरी गृह मन्त्रालयमा काम ठप्प पार्ने जनाएको छ। त्यसैगरी महासंघले दुवै मन्त्रालय घेराउ गर्ने बताएको छ। त्यसैगरी बुधबार पर्सा र बाराका सरकारी कर्मचारीहरुले कामकाज ठप्प बनाएका छन्। पर्साका छिमेकी जिल्लाहरुमा पनि सरकारी कर्मचारीहरु आन्दोलित भएका छन्।

सीडीओ पिट्नुको कारण 'व्यक्तिगत पनि'
कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारीमाथि जिल्ला प्रशासन कार्यालय परिसरमा हातपात गर्नुको कारण व्यक्तिगत पनि रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार असोज २१ गते वीरगन्ज भन्सारबाट अवैध रूपमा भित्र्याइएका टायर छोडन प्रजिअ र भन्सार प्रमुखलाई बारम्बार ताकेता गर्दा पनि नछोडेकाले त्यसको आक्रोशमा बेगमले हातपात गरेकी हुन्। वीरगन्ज भन्सारले केही दिनअघि अवैध रूपमा लुकाएर ल्याएको ट्रकका ११ वटा टायर ना३ख ९३५७ नम्बरको ट्रकबाट बरामद गरेको थियो। त्यसलाई छुटाउन बेगमले प्रजिअ र भन्सार प्रमुखलाई दबाब दिएकी थिइन्। उनका श्रीमान वीरगन्ज बाइपास रोडस्थित घरमा टायर रिसोलिङलगायत पार्टपूर्जाको पसल चलाउँछन्।

प्रजिअमाथि हातपात भएपछि बारा जिल्ला प्रशासन कार्यालय र पर्साका सबै सरकारी कार्यालय बन्द भएका थिए। 'यो एकदमै अकल्पनीय र निन्दनीय घटना हो,' स्थानीय निकाय कर्मचारी संघका जिल्ला अध्यक्ष मंकेश्वर ठाकुरले भने, 'यस्ता घटनाले जिल्लाका कर्मचारीको मनोबल घटेको छ।' उनले घटनाको बिरोधमा सडक आन्दोलन गर्ने चेतावनी दिए। जिल्लाका अन्य निजामती कर्मचारी संघसंगठनहरूले यो घटनालाई अमर्यादित र गैरकानुनीको संज्ञा दिदै बुधबारबाट अनिश्चितकालीन आन्दोलन गर्ने बताएका छन्।

वीरगन्जमा आयोजित 'माननीय महिला सभासद्हरूको छात्रा शिक्षा अभियान' अन्तर्क्रियाको प्रमुख अतिथिका लागि आएकी बेगमले सिमरा विमानस्थलमा आफूलाई लिन 'पुरानो पिकअप' पठाएको भन्दै भण्डारीलाई चार झापड हिर्काएकी हुन्। कार्यकर्तासहित सिमरा विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकी मन्त्री बेगमले स्वागत गर्न कार्यालय परिसरमा उभिएका भण्डारीलाई उनको कमिजको कलर समातेर झापड हानेकी हुन्। विमानस्थलमा सुरक्षाकर्मीका लागि (स्कटिङ) एक घन्टा कुर्दा पनि कोही नआएपछि प्रजिअलाई फोन गर्दा झर्केको उनले बताइन्। 'सिडियोलाई फोन गर्दा झर्केर म के गरुँ भने, मैले म त्यहीं आएर कुरा गर्छु भनें,' उनले सञ्चारकर्मीहरूसँग भनिन्, 'सिडियो अफिस पुगेर उनले मलाई हेपेको भनें। उनले औंला ठड्याएर के गरुँ त भनी उल्टै प्रश्न गरेपछि मैले चार थप्पड हानें।'

बेगमले जिल्ला विकास समितीको र्स्कोपियो गाडी मागेकी थिइन। तर, त्यो गाडी बिग्रिएकाले बनाउन काठमाडौं पठाइएको प्रजिअ भण्डारीले बताए। उनले कृषि औजार अनुसन्धान कार्यालय वीरगन्जको बा१झ ८१३५ नम्बरको मित्सुबिसी पठाएका थिए।
'स्कोर्पियो गाडीमा सिडिओ चढने? मन्त्री चढ्न नपाउने?' उनले आक्रोशित हुँदै सञ्चारकर्मीमाझ भनिन्, 'मन्त्री ठूलो कि सिडियो ठूलो?' पर्सा- १ बाट संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित बेगम फोरम लोकतान्त्रिककी हुन्। उनले यो घटनाबारे प्रधानमन्त्रीदेखि आफ्नो पार्टीसम्मलाई स्पष्टीकरण दिन तयार रहेको बताइन्। प्रजिअ भण्डारीले स्वागत गर्न उभिएको बेला मन्त्री बेगमले एकाएक पिट्न थालेपछि अचम्ममा परेको बताए। 'मैले केही भन्नै पाइनँ,' उनले भने, 'उनले पटापट पिट्न थालिन्।' पिटाइ खाए पनि मन्त्री तथा सभासद् पदको सम्मान गरेर प्रतिकार नगरेको उनले बताए। 'उनले मेरो चस्मासमेत फुटाइदिइन्,' भण्डारीले थपे, 'मन्त्रीले यस्तो कार्य गर्न सुहाउँदैन भन्दा झनै आक्रोशित भइन्।'

आफूले घटनाबारे गृहमन्त्रीलाई तत्काल जानकारी दिएको भण्डारीले बताए। 'मन्त्रीज्यूले मन्त्रीपरिषद्मा कुरा राख्छु भन्नुभयो,' उनले भने, 'प्रजिअलाई नै पिट्नेले जिल्लाका अन्य कर्मचारीलाई के गर्लान्?'घटनालाई बेगमकै दल फोरम लोकतान्त्रिकले 'अशोभनीय' भन्दै बुधबार बस्ने पार्टी बैठकमा गम्भीर छलफल हुने जनाएको छ। घटनाबारे मंगलबार दिउँसो प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता जितेन्द्र देवले जुनसुकै बहानामा पिटेको भए पनि उक्त कार्य 'अशोभनीय' रहेको बताए।

सीडीओलाई सँधै सत्कारको सास्ती
आफ्नो उचित मनितो नगरेको भनी कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका सिडिओ दुर्गाप्रसाद भण्डारीलाई कुटेपछि जिल्ला जाने ठूलाबडाको सत्कार कसको जिम्मेवारी हो भन्ने प्रश्न उब्जिएको छ। क्षेत्रीय प्रशासक, सिडिओ तथा प्रहरी प्रमुखहरूले मन्त्री र कार्यकर्ताको सत्कारमै समय, साधनस्रोतको दुरुपयोग भइरहेको भन्दै केन्द्रमा गुनासो गरिरहे पनि अहिलेसम्म सुनुवाइ भएको छैन। जिल्ला गएका भिआइपीहरूको सुरक्षाको मात्रै जिम्मा भए पनि व्यवहारमा सम्पूर्ण आतिथ्य सिडिओले गर्ने गरेका छन्। सरकारले उक्त शीर्षकमा रकम उपलब्ध नगराउने हुँदा पाहुनाको आतिथ्यमा लाग्ने लाखौं रकम विकासे, जनसम्पर्क र राजस्व कार्यालयहरूसँग गुहार मागेर जोहो गर्ने चलन छ। गृह मन्त्रालयका सहसचिव प्रेमकुमार राईका अनुसार सुरक्षाको प्रबन्ध मात्र कार्यक्षेत्र भए पनि गाडी, खानपान, बासको व्यवस्था सिडिओले नै गर्नुपर्ने अवस्था छ। 'अरु कार्यालयसँग मागेर काम चलाउनुपर्ने र आधा समय स्वागत/बिदाइमै खर्च भएको भन्दै व्यापक गुनासो आइरहेको छ,' सिडिओ सम्मेलन र मन्त्रालयमा हुने बैठकहरूमा उठ्ने मुद्दाबारे जानकारी गराउँदै उनले भने।

गृहका अनुसार झापा, मोरङ, जनकपुर, पर्सा, मकवानपुर, चितवन, रुपन्देही, बाँके, कैलाली, कास्की, काभ्रेपलाञ्चोक, इलामलगायतका सिडिओ पाहुनाबाट आजित छन्। मन्त्री, संवैधानिक पदाधिकारी र विशिष्ठ श्रेणीका कर्मचारीहरूको जिल्ला भ्रमण तय हुनेबित्तिकै सम्बन्धित मन्त्रालयले गृहमार्फत सिडिओलाई सुरक्षालगायत प्रबन्ध मिलाउन अनुरोध गर्ने गरेको छ।
'जिल्लामा काम गर्ने वातावरण नबिग्रोस् भनेर पनि सिडिओहरू अरु निकायलाई हारगुहार गरेर सेवा उपलब्ध गराउन बाध्य छन्,' राइले भने, 'यसले भ्रष्ट्राचारलाई बल पुर्‍याइरहेको छ।' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्री, अरु उच्चपदस्थले दैनिक भ्रमण भत्ता बुझ्ने र 'बलजफ्ती' प्रशासक/प्रहरीको पाहुना लाग्ने गरेका छन्। जिल्ला भ्रमणमा जाँदा मन्त्रीहरूले हवाइजहाज टिकट, होटल खर्च बिलअनुसार र दैनिक भत्ता ७ सय ५० रुपैयाँ पाउँछन्। स्रोतका अनुसार बिनाविभागीय राज्य र सहायकमन्त्रीहरू जिल्ला गएर हप्तौं कर्मचारीको पाहुना लाग्ने र हज्जारौं भत्ता दाबी गर्ने प्रवृत्ति देखिएको छ। बिनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले गृह जिल्ला पर्सा गएको भनी अघिल्लो महिना दैनिक भत्ताबापत एकमुष्ठ ६० हजार भुक्तानी मागेको बिषय मन्त्रिपरिषद्मा अझै चर्चामा छ।

मन्त्रीका कार्यकर्ता र ठूलाबडा कर्मचारी परिवार पनि सिडिओ, प्रहरी र जिल्लाका अन्य कार्यालय प्रमुखका लागि थप बोझ हुने गरेका छन्। 'सरकारसँग भत्ता लिने अनि मन्त्री तथा आसेपासे पाहुनाको ओइरो लाग्दा काम प्रभावित भएको गुनासो गृहमार्फत मन्त्रिपरिषद् समक्ष समेत आइरहेको छ, तर केही पनि निर्णय हुन सकेको छैन,' सचिव लिलामणि पौडेलले भने, 'वीरगंज घटनापछि केही नगर्ने हो भने जाडो महिनाभरि तराईका हाकिमको काम पाहुना पाल्ने मात्र हुन्छ।' पाहुनाको चापले भएको हैरानीबारे सिडिओ तथा प्रहरीले सोमबार पनि गुनासो गरेका थिए। मकवानपुरमा फास्ट ट्रयाकको उद्घाटन समारोहमा गएका मन्त्रीहरू, मुख्य सचिव र सचिवहरूसँग मध्यमाञ्चल डिआइजी नवराज ढकालले 'सानोतिनो कार्यक्रमको निहुँ पारेर हुने मन्त्रीहरूको भ्रमणले आजित बनाएको' बताए। 'हामी मन्त्रीहरूलाई स्कटिङ गर्दाको लगबुक बनाउँछौ। कम्तीमा त्यही विवरणअनुसार इन्धन उपलब्ध गराइदिनुपर्‍यो,' ढकाललाई उद्धृत गर्दै एक सचिवले भने, 'तेल माग्न हात फैलाउँदा फैलाउँदा हैरान भैसकियो।'

सुजाता फेरि सनक्क

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य एक्कासि धेरै नै गम्भीर भएपछि उहाँको उपचारबारे छोरी सुजाता कोइराला र चिकित्सकबीच विवाद भएको छ। बुधबार सिंगापुरका लागि उड्नुपर्ने कोइराला स्वास फेर्न कठिन हुनेगरी थलिएपछि हिजो सहिद गंगालाल अस्पतालमा भर्ना गरिएपछि अबको उपचार रणनीतिबारे छलफल गर्न डाक्टरहरूले कोइराला परिवारका दुई सदस्यलाई पनि बैठकमा साथै राखेका थिए। वातानुकूलित कक्षबाट बाहिर निकाले डेढ घन्टाभन्दा बढी समय कोइरालाका लागि सहज नहुने निष्कर्ष निकाल्दै डाक्टरहरूले सबै विधि र उपाय अवलम्बन गरेर यहीँ उपचार गर्ने निर्णय गरेपछि उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले असहमति जनाएकी थिइन्। उनले कोइरालालाई सिंगापुर लैजाने अड्डी कसिन्। भतिजा डा. शेखर कोइराला साथमा भए पनि उनले डाक्टरहरूलाई नै निर्णय गर्ने जिम्मेवारी दिनुपर्ने तर्क गरेका थिए।
अस्पतालको भिभिआइपीकक्ष जहाँ कोइरालालाई राखिएको थियो, त्यसको ठीक बाहिरको कक्षमा हिजो अपराह्न साढे चारदेखि भएको यस्तो छलफल सवा पाँचसम्म चलेको थियो। निकैबेर सुजाताले सिंगापुर नै लैजाने जिद्धी गरेपछि डाक्टरहरूले तपार्इं आफ्नो खुसी गर्नुहोस् भनिदिएका थिए। यो सबै सुनिरहेका बिरामी कोइरालाले अत्यन्तै अवरुद्ध स्वरमा सुजातालाई जिद्धी नगर्न भनेपछि उनी चुप लागेकी थिइन्। कोइरालाको उपचारमा संलग्न डाक्टरहरू भगवान् कोइराला, अर्जुन कार्की, मनबहादुर केसी, जगदीश अग्रवाल, यादव भट्ट, दिवाकर शर्मा र अस्पतालका निर्देशक अरुण मास्केसम्मिलित सो बैठकमा सुजाताले जिद्धी गर्दा डाक्टरहरूले परिस्थिति बुझ्न नचाहेको भन्दै 'ल लैजानूस्' भनी उठ्न खोजेका थिए। स्रोतका अनुसार, अस्पताल प्रशासनसँग यसअघि नै सुजाता रिसाएकी थिइन्। भिभिआइपीकक्षमा बिरामीका आफन्तहरू पुग्नका लागि अस्पतालले व्यवस्था गर्नुपर्ने पासका लागि शेखरको नाम भए पनि सुजाताको नाम दिइएको रहेनछ। उनी दिउँसो सो कक्षमा छिर्न खोज्दा अस्पतालका सुरक्षाकर्मीले रोकिदिएका थिए। त्यसपछि उनले ठूलै हल्ला मच्चाएका कारण पछि अस्पताल प्रशासनले उनका लागि विशेष पासको व्यवस्था गरिदिएको थियो।
यसैबीच, भाइरल ज्वरोका कारण थलिएका प्रधानमन्त्री माधवकुमार नेपालले हिजै कोइरालाको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूसँग कोइरालाको स्व्ास्थ्य अवस्थाबारे परामर्श गर्नुभएको छ। यही कात्तिक २८ गते विश्व खाद्य शिखर सम्मेलनमा भाग लिन इटालीको रोम जाने कार्यक्रम तय गर्नुभएका प्रम नेपालले सो कुराकानीपछि आफ्नो विदेशभ्रमण रद्द गर्ने निर्णय गर्नुभएको छ। स्रोतका अनुसार प्रम नेपालले कोइरालाका डाक्टरहरू अर्जुन कार्की र भगवान् कोइरालासँग निकै लामो परामर्श गर्नुभएको थियो। अपराह्न भएको यो कुराकानीपछि प्रम नेपालले मुख्यसचिव माधव घिमिरेलाई बोलाई सरकारका तर्फबाट कोइरालाको स्वास्थ्य लाभको कामनाका लागि अस्पताल जान निर्देशन दिएबमोजिम नै घिमिरे अस्पताल पुगेका थिए। यसैगरी व्यक्तिगत तवरमा कोइरालालाई भेट्न नेता र मन्त्रीहरूका अलावा सेनापति छत्रमानसिंह गुरुङ, पूर्वसेनापति रुक्मांगद कटवाललगायतका अधिकांश व्यक्ति पुगेका थिए।
स्रोतका अनुसार फोक्सोमा पानी जमेको र उमेरले पनि वृद्ध भइसक्नुभएका कारण प्रमका निजी चिकित्सकसमेत रहेका डाक्टर कार्कीले कुनै जादुमय उपचार हुन सकोस् भन्ने आशा प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका थिए। उपचारखर्चबारे कुनै चिन्ता नलिन प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको बताइएको छ। त्यसो त गंगालाल लैजानुअघि पनि सिंगापुर जाँदाको उपचारखर्चबारे सुजाताले हिजै बिहान प्रधानमन्त्रीसँग कुराकानी गरेकी थिइन्। जति लागे पनि सरकारले खर्च गर्ने प्रधानमन्त्रीले बताएपछि त्यही अनुसार सहयोगीहरूसमेत लैजाने उनको योजना थियो। स्रोतका अनुसार कोइरालाका पूर्व निजी डाक्टर मधु घिमिरेले पनि एक साताअघि कोइरालालाई भेटेर सिंगापुरमा उपचारको व्यवस्था मिलाउने भन्दै उतै आउन सल्लाह दिएका थिए। डा. घिमिरे नेपाल छाडेपछि सिंगापुरमा बसी काम गरिरहेका छन्। युरोपेलीस्तरको औषधि उपचार गर्न सकिने भन्दै उनले कोइरालाको सिंगापुर यात्राको बाटो देखाइदिएका थिए। तर, अकस्मात्को कठिनाइका काराण कोइरालाको त्यताको यात्रा यसपटक सम्भव भएन। कोइरालाले आफू बिरामी अवस्थामै रहे तापनि सिंगापुर उड्नुअघि हिजो बिहान १० बजेका लागि नेपाली कांग्रेसका सिनियर नेताहरूलाई बोलाई राजनीतिक वार्ता गर्ने र निर्देशन दिने कार्यक्रम राख्न लगाउनुभएको थियो। कांग्रेसका नेताहरू कोइरालानिवासमा जम्मा हुने क्रम जारी रहेकै अवस्थामा कोइरालालाई अस्पताल लैजानुपरेको हो। स्रोतका अनुसार कांग्रेसभित्रको राजनीतिबाट कोइराला निराश र उत्तेजित दुवै हुुनुहुन्थ्यो। 'नेताहरूलाई गाली गर्ने मनसाय उहाँको थियो, तर अस्पताल भर्ना हुनुपरेपछि त्यो सम्भव भएन,' कोइरालानिवास स्रोतले जनआस्थालाई बतायो। यसअघि गत बिहीबार कोइरालाले रामचन्द्र पौडेल, सुशील कोइराला र शेरबहादुर देउवालाई बोलाउनुभएको थियो, तर उहाँहरू कार्यव्यस्तता भन्दै नगएपछि कोइरालाको उत्तेजना बढेको थियो। स्रोतका अनुसार नेताहरू नआएपछि कोइरालाले भतिजा शेखर कोइरालासँग 'तिमीहरू यो पार्टी हाँक्न सक्छौ?' भनी सोध्नुभएको थियो। शेखरले तपाईंलाई सन्चो छैन सानुबुबा, अलि ठीक भएपछि सल्लाह गरौँला नि! भन्दाभन्दै कोइरालाले आँट गर्न नसक्ने भन्दै कराउनुभएको थियो।