Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

लैंगिक पूर्वाग्रह कि अयोग्यता र उन्माद ?

– कपिल काफ्ले
कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगम शुक्रबार साँझ एक टेलिभिजनको समाचार कक्षमा देखापरिन्। उनले दुई समाचारवाचकलाई एकै साथ यसरी हप्काइन्, मानौं उनी त्यस प्रसारण संस्थाकी एक्ली मालिक हुन्। ‘तपाईंले मलाई यहाँ बोलाएपछि मेरा सबै कुरा राख्न दिनुपर्छ, समय पुगेन भनेर मलाई रोक्न पाउनुहुन्न’ राज्यमन्त्री बेगमले समाचारवाचकद्वयलाई एक प्रकारले हावाकावा नै खेलाइन्, उनको कडा मिजासका अगाडि प्रश्न सोध्न पनि उनीहरुलाई असजिलो भैरहेको महसुस गर्न सकिन्थ्यो, ‘पहिला मलाई बोल्न दिनुस्, तपाईं मेडियावालाले मेरो कुरा बंग्याएर प्रचार गर्नुभएको छ, गाडीको कुरालाई मात्र फोकस गर्नुभएको छ।’लाचार पत्रकारहरु केही बेर स्टुडियो उनलाई नै सुम्पेर हेरिरहन बाध्य भए। प्रत्यक्ष प्रसारणको समयमा उनीहरु बढी के नै गर्नसक्थे र ! करिमाका कमजोरी सार्वजनिक गर्ने उद्देश्यले उनलाई स्टुडियोसम्म बोलाएका व्यवस्थापकलाई त्यस बेला उनले असफल साबित गरिन्, जब समाचारको समय जबरजस्ती खोसेर उनले ‘महिलाको हात समाउन आउने परपुरुषलाई चड्कन नलाई हुन्छ, एक मुस्लिम महिला परपुरुषसँग हात मिलाउँदिनँ, सबैसँग नमस्कार गरेर काम चलाउँछु- परपुरुष भएर मेरो हात समाउने ? त्यस्ताको गाला नचड्काए कसको चड्काउने ?’अन्ततः एक प्रभावशाली समाचार-कक्षमा पुगेर करिमा बेगमले त्यसको पूर्णतः दुरुपयोग गरिन्। मेडिया स्वयम्ले यस विषयमा कति र्सतर्क हुनुपथ्र्यो भन्ने सर्न्दर्भ आफ्नो ठाउँमा छ, तर एक राज्यमन्त्रीजस्तो व्यक्तिले आफ्नो अपराध लुकाउन महिलाको अस्मिता दाउमा लगाउनु निचताको पराकाष्ठा हो। आफ्नो स्वागतमा फूलमाला लिएर प्रमुख जिल्ला अधिकारी विमानस्थलमा हात जोड्दै उभिएनन्, आफ्नो शान प्रदर्शन हुन सकेन भनेर उनकै कार्यालयमा गएर हातपात गर्ने मन्त्री यसरी नायिका बनेर प्रकट हुनु र ‘ल मलाई कसले गिरफ्तार गर्न सक्दोरहेछ हेरौं’ भनेर राज्यलाई नै ललकार्नु अराजकताको सीमा हो। आफ्नो बहादुरी साबित गर्न पर्साजल्लामा भएका अशान्ति र अव्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई दोष दिँदै सजायस्वरुप गाला चड्काउनुपरेको हो भन्नु र सो अशिष्ट उक्ति सुन्न दर्शक बाध्य हुनु कत्रो विडम्बना !साँचो कुरो त के भने राज्यमन्त्री करिमा जब सिमरा विमानस्थल पुगिन् र स्वागतमा चिल्लो गाडीका साथ जिल्लाको प्रमुख प्रशासक हाजिर भएको देखिनन्, उनले अपमानित अनुभूत गरिन्। यति सम्मान पनि नपाए कति पापड बेलेर राज्यमन्त्री भएको के काम भन्ने उनलाई लाग्यो। उनी सरासर जिल्ला प्रशासन कार्यालय पुगिन् र अपमानित भएको झोंक प्रजिअको गालामा बर्सा। यसका लागि उनको मन्त्री पद तत्काल खोसिनु त कहाँ हो कहाँ झिनो बहुमतले अडिएको सरकार उनको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक रिसाउला कि भनेर निरिह बसेको छ। करिमा पहिलेका दिनहरुमा भन्दा पनि बढी शानका साथ सिंहदरबार गइरहेकी छन्। तर सरकारलाई कत्ति लाज लागिरहेको छैन। सरकार लजाएको जनताले महसुस गर्न सकेका छैनन्। प्रजिअलाई हातपात गर्ने व्यक्तिलाई पक्राउ गर्न पुर्जी जारी गरिएपछि करिमा राजनीतिक दाउ खेल्न थालेकी छन्। उनले ‘सिडिओले औंला ठडाएर कुरा गरेको र महिलाको हात समाएकोले मैले (इज्जत जोगाउन) गाला चड्काएकी हुँ’ भन्दै विज्ञप्ति मात्र निकालेकी छैनन्, पर्सा आफ्ना र्समर्थकलाई उचालेर जुलुस पनि प्रदर्शन गराएकी छन्। उनको अशिष्ट व्यवहारका कारण राजनीतिक क्षेत्र र प्रशासन संयन्त्रबीच खाडल सिर्जना भएको छ। राज्यको स्थायी सरकार भनिने प्रशासनलाई असहयोगी बनाउन उनको एकपछि अर्को व्यवहार कारक बनेको छ। फोरम लोकतान्त्रिकले उनलाई तत्काल फिर्ता बोलाउनुको साटो एक छानबिन समिति गठन गर्ने निर्णयम्म गरेको छ र सरकारको नेतृत्व गरिरहेको एमाले ‘यसै कारणले सरकार गिर्ने पो हो कि!’ भनेर लाज पचाएर मौन बसेको छ। सरकारले करिमामाथि कारबाही गर्न सक्छ वा सक्तैन, यो बेग्लै विषय हो। तर उनी पूर्णतः दोषी हुन् भन्नेमा अब कुनै आशंका रहेन। विगत केही समयअघिदेखि महिला मन्त्रीहरुबाट पेलिएको यस सरकारले सशक्त कदम चाल्न सक्ला भन्ने विश्वास पनि जनताले गरेका छैनन्। सरकारको नेतृत्व गरिरहेको एमालेकै रक्षामन्त्री विद्या भण्डारीले अडबाङ्गे चरित्र देखाउँदै आएकी छन्। रक्षामन्त्री भण्डारीको बोली तथा व्यवहार शान्ति प्रक्रियालाई सुदृढ बनाउने दिशामा केन्द्रित नभई छिमेकी भारत र सेनाका रथीवृन्दलाई प्रसन्न बनाउने दिशामा केन्द्रित देखिएको छ। उनले सेनाका लागि हतियार ल्याउनुपर्ने आवश्यकतामा जोड मात्र दिएकी छैनन् भारत भ्रमणमा गएका बेला उसलाई खुसी बनाउने तर बृहत् शान्ति सम्झौताको विपक्षमा अभिव्यक्तिसमेत दिइन्। नेपालको नेतृत्वमा रहेका केही व्यक्तिलाई हात लिएर यहाँ सधैं अस्थिरता कायम गराउने र मुलुकलाई विकास गर्न नदिने अभियानमा लागेका विदेशी तत्त्वसँग उनी र उनका गुरु बिकेका त होइनन् भन्ने हदसम्मको आशंका सिर्जना भएको छ। भण्डारीले सुरक्षा व्यवस्थामा सामयिक सुधार गर्नुपर्ने विचारसहित १२बुँदे शान्ति सम्झौतामा परिमार्जन गर्नुपर्ने राय प्रकट गरेपछि अन्मिनसमेत झस्किएको छ। उनको विचार सार्वजनिक भएलगत्तै अन्मिन प्रमुख करिन लेनग्रेडले प्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टीकरणसमेत सोधिसकेको अवस्था छ। हाम्रो सरकार प्रधानमन्त्रीय प्रणालीमा सञ्चालित छ। मन्त्रिमण्डलका सदस्यको काम प्रधानमन्त्रीलाई सघाउने हो, व्यक्तिगत विचार दिँदै हिँड्ने र प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन बाध्य बनाउने होइन। हिम्मत भए प्रधानमन्त्रीसँग राय बझाएर राजीनामा दिन सक्नुपर्छ। काखमा पनि बस्ने त्यहीँ फोहोर पनि गरिदिने कार्य दुष्टता मात्र हो। हातहतियार र गोलीगठ्ठा खरीदमा ठूलो परिमाणमा कमिशन हात लाग्न सक्छ तर बृहत् शान्ति सम्झौता र पूरा शान्ति प्रक्रियाकै विपक्षमा गएर र मुलुकलाई नै असजिलो पारेर निहित स्वार्थसिद्ध गर्न तम्सिनु निचता मात्र हुन जान्छ। सरकारलाई असजिलोमा पारेर आफ्नो स्वार्थसिद्ध गर्न रक्षामन्त्री भण्डारी अर्समर्थ भए पनि परराष्ट्रमन्त्री सुजाता कोइराला भने सफल भएकी छन्। संविधानसभाको निर्वाचनमा जनताले दोस्रो ठूलो दल बनाएको नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा पुगेकी कोइरालालाई सभापति पिताको आशीर्वादले उपप्रधानमन्त्री बनाएरै छोडेको छ। उनले निजी स्वार्थका लागि छिमेकी भारतसँगको नेपालको सम्बन्धलाई समेत दाउमा लगाइन्। प्रधानमन्त्री नेपालको भारत भ्रमणमा सरिक नभएर उनले उपप्रधानमन्त्री बनाउन सरकारलाई दबाब दिइन्। पछि आफ्नै पार्टीको केन्द्रीय कार्यसमितिले स्पष्टीकरणका लागि निमन्त्रणा गर्दा उनले उल्टै पदाधिकारीहरुलाई हप्काइन्। बाहिर र्समर्थकहरुको झुण्ड लिएर पूर्ण दादागिरी देखाउँदै स्पष्टीकरण दिन होइन उनी शान प्रदर्शन गर्न त्यहाँ पुगेकी थिइन्। पछि जब पार्टी वरिष्ठ नेताहरुको चाहनाविपरीत उनका प्रभावशाली पिता गिरिजाप्रसाद कोइरालाले उनलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपाललाई दबाब दिए, तब उनी फेरि काली बनेर प्रकट भइन्। पार्टी समर्पित पदाधिकारीलाई उनले हप्काइन्, ‘तिमीहरु सबैलाई मेरा बाबु गिरिजाप्रसादले नै मनोनीत गरेर यो हैसियतमा पुर्याएका हुन्, आज मलाई मेरा बाबुले उपप्रधानमन्त्री बनाए र मेरो पदोन्नति भयो भनेर तिमीहरु किन जलिरहेका छौ - होस गर, आफ्नो हैसियत नबिर्स !’भनिन्छ, हरेक कामको परिणाम सुखद हुन्छ। सकारात्मक अवधारणा राख्नेहरु यसै भन्छन्। सुजाता कोइरालाको व्यवहारले जब कोइराला वंश-परम्परा र परिवारवादको उचाइ छोयो, तब नेपाली कांग्रेसले सामूहिक नेतृत्वमा जाने निर्णयगर्यो। सभापति कोइरालाको लाइन अल्पमतमा पर्यो। लोकतान्त्रिक भनिने पार्टी सभापतिलाई अधिनायकवादी बनाउने विधान संशोधन भयो। सभापति कोइरालाको अवशानपछि पार्टी सामूहिक नेतृत्वमा जानु आवश्यक मात्र होइन अनिवार्य थियो। उपप्रधानमन्त्री बनेकी सुजाताको हठले पार्टी वरिष्ठ नेता तथा समर्पित कार्यकर्तालाई लोकतान्त्रिक परिमार्जनका पक्षमा एकजुट हुन सघाएको छ। तर मन्त्री भण्डारी र राज्यमन्त्री बेगमको व्यवहारले कहाँ सकारात्मक प्रभाव पार्ने हो, हेर्न बाँकी नै छ। एकपछि अर्को गर्दै महिला नेतृत्व विवादमा परे पनि लिंगका दृष्टिले यसलाई कसैले हेरेको छैन। नागरिक समाजमा आएको यस विवेकको पनि सराहना गर्नै पर्छ। लैंगिक पूर्वाग्रहका कारण बेगम, भण्डारी र कोइराला आलोचनाका शिकार भएका होइनन्, अयोग्यता र सत्ता-उन्मादले उनीहरुलाई विचलित बनाएको हो भन्ने तथ्य सबैले बुझेका छन्।

No comments: