Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

रेखासँग नाचे प्रचण्ड

'म फिल्मकी हिरोइन। उहाँ राजनीतिको हिरो। यो कार्यक्रममा हामी सँगै नाचेर दर्शकलाई मनोरञ्जन दिनेछौं,' नायसका रेखा थापाले यसो भनेपछि प्रचण्ड सजिलै मञ्चतर्फ उक्लिए। र, हिरोइनसँग नाच्न तयार भए।
फिल्म : 'नागरिक सर्वोच्चता'
कलाकार (सकारात्मक) : नेपाली जनता
कलाकार (नकारात्मक) : कठपुतली सरकार र विदेशी दलाल

सट नं १५ - २७
यो 'सुटिङ स्पट' होइन। न त यहाँ सुटिङको तयारी नै हुँदैछ। तैपनि माओवादी सम्बद्ध कलाकारले 'सिंहदरबार घेराउ' कार्यक्रमलाई फिल्म सुटिङ जस्तै बनाउन खोजे। मञ्चको पृष्ठभूमिमा राखिएको 'क्ल्याप बोर्ड'बाट यस्तो संकेत मिल्थ्यो। सिंहदरबार-भद्रकाली सडक माओवादी कार्यकर्ताले भरिएको थियो। दुईवटा मिनीट्रक जोडेर बनाइएको मञ्चमा माओवादी कलाकार र नेता बराबर थिए। र, त्यहाँको माहोल सांगीतिक थियो। कलाकारको बाक्लै उपस्थिति रहेको कार्यक्रममा बोलाइयो हिरोइन रेखा थापालाई। यहाँ उनी नाच्न आएकी थिइनन्। उनको भागमा गाउने जिम्मेवारी थियो। उनी मञ्चमा त आइन्। तर तुरुन्तै गाइनन्। उनले भुइँतिर हेरिन्। जहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू रामबहादुर थापा 'बादल', मोहन वैद्य 'किरण' लगायतका अरू धेरै पलेँटी कसेर बसेका थिए। सबैतिर आँखा घुमाएपछि रेखाले शर्त राखिन्, 'म गाउँछु। तर, माओवादी अध्यक्ष प्रचण्डले मलाई नाचेर साथ दिनुपर्छ।' यो शर्तको प्रतिक्रियाप्रति धेरै उत्सुक थिए। 'म फिल्मकी हिरोइन। उहाँ राजनीतिको हिरो। यो कार्यक्रममा हामी सँगै नाचेर दर्शकलाई मनोरञ्जन दिनेछौं,' रेखाले यसो भनेपछि प्रचण्ड सजिलै मञ्चतर्फ उक्लिए। र, हिरोइनसँग नाच्न तयार भए। गीत समेत आफैंले गाउने जिम्मा पाएकी रेखाले न फिल्मको गीत गाइन् न त अन्य कलाकारले जस्तो राजनीतिक। उनले भाका हालिन्,
'लालुपाते नुघ्यो भुइँतिर कि लाउ माया मैतिर कि लाउ उहीतिरनीरा नलाउ दुईतिर...'
रेखाको स्वर 'बेसुर' लागे पनि चर्को तालीमा त्यो दबियो। प्रचण्डले पनि जानी नजानी कम्मर हल्लाएर रेखालाई साथ दिए। कार्यक्रममा यति काम भ्याएपछि सुटिङको कारण देखाउँदै रेखा बाहिरिइन्। प्रचण्ड भने भाषण नसकी हिँडेनन्। माओवादी सम्बद्ध कलाकारको संस्था 'अखिल नेपाल चलचित्रकर्मी संघ'ले अगुवाई गरेको कार्यक्रममा मौसमी मल्ल, सुनीलदत्त पाण्डे, लक्ष्मण शेष, चेतन सापकोटा आदिले आफ्नो कला प्रस्तुत गरेका थिए। युवराज लामा, अशोक शर्मा, दीपक श्रेष्ठ, केपी पाठक, विमल पौडेल लगायतका फिल्मकर्मी कार्यक्रममा उपस्थित थिए।

No comments: