Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

एकै ठाउँमा पाँच शिशुको शव फेला पर्‍यो

काठमाडौँ, पुस २२ - काठमाडौँको कुलेश्वरस्थित फोहर फ्याँक्ने स्थानमा करिब चार महिनाका शिशुको पाँच वटा शव फेला परेको छ। विष्णुमति नदी किनारको फोहर फ्याँक्ने स्थानमा प्लास्टिकले पोको पारेर फ्याँकेको अवस्थामा स्थानीय बासिन्दाले शव फेला पारेको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्। नजिकैका क्लिनिकहरुमा गर्भपतन गरेपछि ती शवहरु फ्याँकिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

मुलुकी ऐन ज्यानसम्बन्धीको महल २८ (ख)ले गर्भ तुहाएको नमानिने अवस्थामा सुरक्षित गर्भपतन गर्न सकिने व्यवस्था मिलाइदिएपछि नेपालमा गर्भपतन गर्नेहरुको संख्या नाटकीय रुपमा बढेको छ। ०६० चैतमा यो गर्भपतनसम्बन्धी कानुन परिवर्तन गरी लागू गरिएपछिको पहिलो वर्ष नै गर्भपतन गर्ने महिलाको संख्या ७ सय १९ पुगेको थियो। छ वर्षको अवधिमा यो संख्या ३ लाख नाघिसकेको तथ्यांक छ। तर विद्यमान कानुनमा पनि तीन महिनासम्मको गर्भलाई मात्र सुरक्षित रुपमा तुहाउन सकिने व्यवस्था छ। त्यसैगरी गर्भवती महिलाको स्वीकृतिबिना र छोरी वा छोरा पहिचान गरेर गर्भपतन गर्न नपाइने व्यवस्था छ। त्यसैगरी अनिच्छित वा अन्य कारणले रहन गएको गर्भलाई सरकारले तोकेको स्वास्थ्य संस्था, चिकित्सक वा स्वास्थ्यकर्मीबाहेकबाट पतन गराउन नपाइने व्यवस्था कानुनमा छ। यस्तो संख्या देशभर २ सय ४५ स्थानमा मात्र छ। बुधबार फेला परेका शव चार महिनासम्मका देखिएकाले अवैध रुपमा त्यसलाई तुहाइएको हुनसक्ने अनुमान गरिएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक तुलसी भट्टराईले प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको बताएका छन्।

No comments: