Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

घाइते डीएसपीलाई दाहालपत्‍नी र हिसिलाले भेटे

पुस ९- आमहड्तालको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक दिलीप चौधरीमाथि नियोजित आक्रमण गरेको आरोप लागेको एकीकृत माओवादीका दुई नेतृ बुधबार जुस र फलफूल बोकेर उनको स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगे। न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका चौधरीसँग भलाकुसारी नभए पनि उनीहरूले पत्नीलाई भेटे र पार्टीको पार्टीको सन्देश सुनाए।हातमा फलफूल र जुस बोक्दै आक्रमणमा पार्टी संलग्न नभएको सन्देश बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता र माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईकी पत्नी तथा माओवादी नेतृ हिसिला यमी बुधबार छुट्टाछुट्टै अस्पताल पुगेका थिए। अस्पताल स्रोतका अनुसार यमी बिहानै पाँच सयको दुई बट्टा जुस किनेर अस्पताल पुगेकी थिइन् भने सीता मध्याह्न ११ बजे फलफूल बोकेर।

माओवादी आमहड्तालको पहिलो दिन नयाँ बानेश्वर क्षेत्रको कमान्ड सम्हालिरहेका चौधरी अल्झेर लडेपछि प्रदर्शनकारीले इँट्टा र रडले हानेर मरणासन्न पारेपछि प्रहरीका उच्च अधिकारीले आक्रमण नियोजित भएको बताएका थिए। चौधरी भेट्न पुगेका नेतृले भने आक्रमणमा पार्टी संलग्न नभएको परिवारलाई बताए। यमी पुग्दा चौधरी निदाएकाले कुराकानी भएन। स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट क्याबिनमा सारिएका उनलाई टाढैवाट हेरेर यमीले पत्नीसँग उनको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिइन्। जुस चौधरी पत्नीलाई दिँदै उनले भनिन्, 'अहिले कस्तो छ?' प्रतिउत्तरमा पत्नीले पहिलाभन्दा सञ्चो भएको बताइन्।

अस्पताल स्रोतका अनुसार यमीले चौधरीमाथि भएको आक्रमणप्रति दुःखमनाउ गरेकी थिइन्। उनले भनिन्, 'माओवादीले नियोजित रूपमा आक्रमण गरेको भन्दै प्रचार भएको छ, तर उहाँमाथि हाम्रो पार्टीले आक्रमण गरेको हैन, त्यो दुर्घटना मात्र हो।' उनले घटना अत्यन्त दुखपूर्ण रहेको बताउँदै चाँडै सञ्चो हुन शुभकामना दिइन्। माओवादी अध्यक्ष दाहाल आफैं चौधरीको स्वास्थ्य अवस्थाबारे बुझ्न जाने चर्चा भए पनि करिब ११ बजे दाहालपत्नी सीता अध्यक्षको सन्देशबाहक बनेर अस्पताल पुगिन्। चिकित्सकहरूले घाइते चौधरीलाई कुरा नगर्न सचेत गराएकाले सीताले चौधरीपत्नीसँगै भलाकुसारी गर्दै अध्यक्ष दाहालको सन्देश सुनाएकी थिइन्। अस्पताल स्रोतका अनुसार सीताले घटनाप्रति दुखमनाउ गर्दै 'अध्यक्ष दाहालले शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ' भनेर सन्देश सुनाइन्। प्रहरीले बानेश्वर घटनाको अनुसन्धानका लागि मंगलबार कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरणकुमार गौतमको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो।

दुई दिन आइसियुमा राखेर हालै क्याबिनमा सारिएका चौधरीको स्वास्थ्यमा सुधार आइरहेको छ। धारिलो हतियार प्रहारबाट टाउकोमा छवटा गम्भीर चोट लागेका चौधरीको शल्यक्रिया गरी ४५ वटा टाँका लगाइएकाले उनी बोल्न सक्ने अवस्थामा छैनन्। आफन्तका अनुसार टाउकोभरि पट्टी बेरिएका उनी बोल्दा दुख्ने भएकाले घाउ निको नभएसम्म नबोल्न चिकित्सकहरूले सुझाव दिएका छन्। चौधरीले परिवारका सदस्यसँग सामान्य कुराकानी गर्ने गरेका छन्। परिवारका अनुसार बुधबारदेखि चौधरीले खाना खान सुरु गरेका छन्।

No comments: