Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

सुजाता फेरि सनक्क

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य एक्कासि धेरै नै गम्भीर भएपछि उहाँको उपचारबारे छोरी सुजाता कोइराला र चिकित्सकबीच विवाद भएको छ। बुधबार सिंगापुरका लागि उड्नुपर्ने कोइराला स्वास फेर्न कठिन हुनेगरी थलिएपछि हिजो सहिद गंगालाल अस्पतालमा भर्ना गरिएपछि अबको उपचार रणनीतिबारे छलफल गर्न डाक्टरहरूले कोइराला परिवारका दुई सदस्यलाई पनि बैठकमा साथै राखेका थिए। वातानुकूलित कक्षबाट बाहिर निकाले डेढ घन्टाभन्दा बढी समय कोइरालाका लागि सहज नहुने निष्कर्ष निकाल्दै डाक्टरहरूले सबै विधि र उपाय अवलम्बन गरेर यहीँ उपचार गर्ने निर्णय गरेपछि उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले असहमति जनाएकी थिइन्। उनले कोइरालालाई सिंगापुर लैजाने अड्डी कसिन्। भतिजा डा. शेखर कोइराला साथमा भए पनि उनले डाक्टरहरूलाई नै निर्णय गर्ने जिम्मेवारी दिनुपर्ने तर्क गरेका थिए।
अस्पतालको भिभिआइपीकक्ष जहाँ कोइरालालाई राखिएको थियो, त्यसको ठीक बाहिरको कक्षमा हिजो अपराह्न साढे चारदेखि भएको यस्तो छलफल सवा पाँचसम्म चलेको थियो। निकैबेर सुजाताले सिंगापुर नै लैजाने जिद्धी गरेपछि डाक्टरहरूले तपार्इं आफ्नो खुसी गर्नुहोस् भनिदिएका थिए। यो सबै सुनिरहेका बिरामी कोइरालाले अत्यन्तै अवरुद्ध स्वरमा सुजातालाई जिद्धी नगर्न भनेपछि उनी चुप लागेकी थिइन्। कोइरालाको उपचारमा संलग्न डाक्टरहरू भगवान् कोइराला, अर्जुन कार्की, मनबहादुर केसी, जगदीश अग्रवाल, यादव भट्ट, दिवाकर शर्मा र अस्पतालका निर्देशक अरुण मास्केसम्मिलित सो बैठकमा सुजाताले जिद्धी गर्दा डाक्टरहरूले परिस्थिति बुझ्न नचाहेको भन्दै 'ल लैजानूस्' भनी उठ्न खोजेका थिए। स्रोतका अनुसार, अस्पताल प्रशासनसँग यसअघि नै सुजाता रिसाएकी थिइन्। भिभिआइपीकक्षमा बिरामीका आफन्तहरू पुग्नका लागि अस्पतालले व्यवस्था गर्नुपर्ने पासका लागि शेखरको नाम भए पनि सुजाताको नाम दिइएको रहेनछ। उनी दिउँसो सो कक्षमा छिर्न खोज्दा अस्पतालका सुरक्षाकर्मीले रोकिदिएका थिए। त्यसपछि उनले ठूलै हल्ला मच्चाएका कारण पछि अस्पताल प्रशासनले उनका लागि विशेष पासको व्यवस्था गरिदिएको थियो।
यसैबीच, भाइरल ज्वरोका कारण थलिएका प्रधानमन्त्री माधवकुमार नेपालले हिजै कोइरालाको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूसँग कोइरालाको स्व्ास्थ्य अवस्थाबारे परामर्श गर्नुभएको छ। यही कात्तिक २८ गते विश्व खाद्य शिखर सम्मेलनमा भाग लिन इटालीको रोम जाने कार्यक्रम तय गर्नुभएका प्रम नेपालले सो कुराकानीपछि आफ्नो विदेशभ्रमण रद्द गर्ने निर्णय गर्नुभएको छ। स्रोतका अनुसार प्रम नेपालले कोइरालाका डाक्टरहरू अर्जुन कार्की र भगवान् कोइरालासँग निकै लामो परामर्श गर्नुभएको थियो। अपराह्न भएको यो कुराकानीपछि प्रम नेपालले मुख्यसचिव माधव घिमिरेलाई बोलाई सरकारका तर्फबाट कोइरालाको स्वास्थ्य लाभको कामनाका लागि अस्पताल जान निर्देशन दिएबमोजिम नै घिमिरे अस्पताल पुगेका थिए। यसैगरी व्यक्तिगत तवरमा कोइरालालाई भेट्न नेता र मन्त्रीहरूका अलावा सेनापति छत्रमानसिंह गुरुङ, पूर्वसेनापति रुक्मांगद कटवाललगायतका अधिकांश व्यक्ति पुगेका थिए।
स्रोतका अनुसार फोक्सोमा पानी जमेको र उमेरले पनि वृद्ध भइसक्नुभएका कारण प्रमका निजी चिकित्सकसमेत रहेका डाक्टर कार्कीले कुनै जादुमय उपचार हुन सकोस् भन्ने आशा प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका थिए। उपचारखर्चबारे कुनै चिन्ता नलिन प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको बताइएको छ। त्यसो त गंगालाल लैजानुअघि पनि सिंगापुर जाँदाको उपचारखर्चबारे सुजाताले हिजै बिहान प्रधानमन्त्रीसँग कुराकानी गरेकी थिइन्। जति लागे पनि सरकारले खर्च गर्ने प्रधानमन्त्रीले बताएपछि त्यही अनुसार सहयोगीहरूसमेत लैजाने उनको योजना थियो। स्रोतका अनुसार कोइरालाका पूर्व निजी डाक्टर मधु घिमिरेले पनि एक साताअघि कोइरालालाई भेटेर सिंगापुरमा उपचारको व्यवस्था मिलाउने भन्दै उतै आउन सल्लाह दिएका थिए। डा. घिमिरे नेपाल छाडेपछि सिंगापुरमा बसी काम गरिरहेका छन्। युरोपेलीस्तरको औषधि उपचार गर्न सकिने भन्दै उनले कोइरालाको सिंगापुर यात्राको बाटो देखाइदिएका थिए। तर, अकस्मात्को कठिनाइका काराण कोइरालाको त्यताको यात्रा यसपटक सम्भव भएन। कोइरालाले आफू बिरामी अवस्थामै रहे तापनि सिंगापुर उड्नुअघि हिजो बिहान १० बजेका लागि नेपाली कांग्रेसका सिनियर नेताहरूलाई बोलाई राजनीतिक वार्ता गर्ने र निर्देशन दिने कार्यक्रम राख्न लगाउनुभएको थियो। कांग्रेसका नेताहरू कोइरालानिवासमा जम्मा हुने क्रम जारी रहेकै अवस्थामा कोइरालालाई अस्पताल लैजानुपरेको हो। स्रोतका अनुसार कांग्रेसभित्रको राजनीतिबाट कोइराला निराश र उत्तेजित दुवै हुुनुहुन्थ्यो। 'नेताहरूलाई गाली गर्ने मनसाय उहाँको थियो, तर अस्पताल भर्ना हुनुपरेपछि त्यो सम्भव भएन,' कोइरालानिवास स्रोतले जनआस्थालाई बतायो। यसअघि गत बिहीबार कोइरालाले रामचन्द्र पौडेल, सुशील कोइराला र शेरबहादुर देउवालाई बोलाउनुभएको थियो, तर उहाँहरू कार्यव्यस्तता भन्दै नगएपछि कोइरालाको उत्तेजना बढेको थियो। स्रोतका अनुसार नेताहरू नआएपछि कोइरालाले भतिजा शेखर कोइरालासँग 'तिमीहरू यो पार्टी हाँक्न सक्छौ?' भनी सोध्नुभएको थियो। शेखरले तपाईंलाई सन्चो छैन सानुबुबा, अलि ठीक भएपछि सल्लाह गरौँला नि! भन्दाभन्दै कोइरालाले आँट गर्न नसक्ने भन्दै कराउनुभएको थियो।

No comments: