Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

डेरा नपाएर हैरान गुरूकुल

काठमाडौं- अग्रज कलाकारबाट टीका थाप्न यसपालि पनि पूर्णिमाका दिन गुरुकुलमा रंगकर्मी, साहित्यकार र कलाकारको जमघट भयो। कलाकर्मीबीच नियमित भेटघाट र सिर्जनात्मक कार्यक्रम हुने यो माहौलले कहिलेसम्म निरन्तरता पाउने हो ? गुरुकुल छिट्टै ठाउँ सर्नुपर्ने भएको छ जसका लागि जग्गा फेला पर्न सकेको छैन। विराटनगरमा अर्को साता हुने 'आरोहण नाटक महोत्सव'को तयारी गर्न आइतबार बिहानै 'गुरूकुलका गुरू' सुनिल पोखरेल बस चढ्दैछन्। उनीसँग नाटकका सामानको भारी हुनेछ। १२ घन्टा लामो यात्रा अवधिभर उनलाई तिहारपछि गुरुकुललाई कसरी अगाडि बढाउने भन्ने चिन्ताको भारीले बढी सताउने निश्चित छ। संस्कृतिमन्त्री मीनेन्द्र रिजालले जग्गा मिलाइदिने आश्वासन दिएका छन्। विगतमा नाटक खेलेका व्यक्ति हुनाले उनलाई मन्त्रीप्रति आशा छ। जग्गाको निर्णय नदिएसम्म दसैं मनाउदिन भन्ने मन्त्रीको भाका नाघिसके पनि पोखरेलले अझै आशा मारिसकेका छैनन्। 'हामीले गरिरहेको काम राम्रो हो भने हाम्रो समस्या बुझिदिनुपर्छ,' पोखरेलले शनिबार नागरिकसँग भने, ' हामीले खासै राम्रो काम गरिरहेका छैनौं भन्ने लाग्छ भने पनि कुनै आपत्ति छैन।'


मैतीदेवीको सेतोपुल कटेपछि उत्तरपट्टि ढिस्कोमा आरोहण नाट्य संस्थाले सात वर्षदेखि गुरुकुल सञ्चालन गर्दै आएको छ। त्यहाँ दुई नाटक हल र कलाकारको होस्टल छन्। पोखरेलका अनुसार गुरुकुलसँग अहिले लगभग तीन करोड मूल्य बराबरका नाट्यसामग्री छ। उनले धेरै जनालाई भनिसकेका छन्, 'गुरुकुलले जग्गा पाएन भने यी सबै सामग्री टुँडिखेलमा जलाएर विदेश जान्छु।' उनी काठमाडौंमात्र होइन विराटनगरमा बन्दै गरेको गुरुकुलको शाखालाई समेत बन्द गर्ने सुरमा छन्। केही समयअघि भने उनी विराटनगरलाई आधार बनाएर गुरुकुलको काम गर्ने निष्कर्षमा पुगिसकेका थिए। पछि उनलाई लाग्यो, 'नाटकको आगो बाल्ने हो भने केन्द्रबाटै बालिनुपर्छ।' त्यसैले काम गर्न पाए काठमाडौंमै गर्ने नत्र विदेशिने सोच उनमा पलाएको छ। उनलाई दिल्लीको नेसनल स्कुल अफ ड्रामाले धेरै वर्षदेखि अतिथि प्राध्यापकको काम गर्ने निम्तो दिँदैआएको छ। उनी भन्छन्, 'हामी प्रोफेसनल मान्छे, जता पनि बिक्छौं।'

पछिल्लो चार वर्षको भाडासम्झौता नलम्बिने भएपछि गुरुकुलले नयाँ ठाउँ खोज्नुपरेको हो। 'अहिले हामी बसेको जग्गा जसको हो, उहाँहरूले आफ्नो योजना बनाउनुभएको छ, उहाँहरूले नचाहेपछि हामी बस्न मिल्दैन,' उनले भने, 'हामीले गुनासो होइन बरु सात वर्ष बस्न दिएकोमा आभारी हुनुपर्छ।' दसैंसम्ममा ठाउँ छाड्नुपर्ने भएपछि उनले रिङरोडभित्र धेरै ठाउँमा जग्गा भाडामा खोजे। काठमाडौंको महँगो जग्गा ठूलो परिमाणमा किन्न सजिलो पनि छैन। 'गुरुकुलमा आवद्ध हामी सबै निम्न मध्यमवर्गका हौं, हामीसँग भएका सबै घरखेत बेचेर पनि जग्गा किन्न सकिँदैन,' उनले भने, 'काठमाडौंको जग्गा कति महँगो भएछ, यो अवधिमा थाहा पायौं।' सरकारले जग्गा दिए गुरुकुललाई सहकारी वा ट्रस्टको रूपमा लैजान समेत उनी तयार छन्। धेरैले गुरुकुल भन्नेबित्तिकै आफ्नो अनुहार सम्भि्कने गरेकाले उनलाई अप्ठ्यारो परेको छ। भन्छन्, 'अहिले पनि गुरुकुललाई आरोहणले चलाइरहेको छ र भोलि मपछि अरू जो पनि यसमा आएर काम गर्न सक्छन्।'सरकारसँग जग्गा कुन आधारमा माग्छौ भनेर कसैले सोध्यो भने उनीसँग जवाफ छ, 'रंगकर्ममा २५/३० वर्षदेखि नियमित काम गरिरहेको छु।' उनी आफ्नो कामलाई उत्पादक वा अनुत्पादक के हो भनेर चाहिँ भन्न चाहन्नन्, 'यो अरूले मूल्यांकन गर्ने हो।' अनि गुरुकुलबिनाको नेपाली रंगकर्म कस्तो हुन्छ? यसको जवाफ पनि उनी दिँदैनन्। बरु भन्छन्, 'गुरुकुल वा म र मेरो टोली रंगमञ्चमा रहेन भने ठूलो क्षति हुनेछ भन्ने भ्रम मैले पालेको छैन।'

No comments: