Weather of Kathmandu Airport

Click for the latest Kathmandu Airport weather forecast.

सीडीओ पिट्नुको कारण 'व्यक्तिगत पनि'

काठमाडौँ, कात्तिक २५ - कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारीमाथि गरेको हातपातको विरोधमा सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। राज्यमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गर्दै नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी महासंघले बुधबारदेखि आन्दोलन थालेका छन्। संगठनले आज दिउँसो कृषि मन्त्रालय घेराउ गरी गृह मन्त्रालयमा काम ठप्प पार्ने जनाएको छ। त्यसैगरी महासंघले दुवै मन्त्रालय घेराउ गर्ने बताएको छ। त्यसैगरी बुधबार पर्सा र बाराका सरकारी कर्मचारीहरुले कामकाज ठप्प बनाएका छन्। पर्साका छिमेकी जिल्लाहरुमा पनि सरकारी कर्मचारीहरु आन्दोलित भएका छन्।

सीडीओ पिट्नुको कारण 'व्यक्तिगत पनि'
कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारीमाथि जिल्ला प्रशासन कार्यालय परिसरमा हातपात गर्नुको कारण व्यक्तिगत पनि रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार असोज २१ गते वीरगन्ज भन्सारबाट अवैध रूपमा भित्र्याइएका टायर छोडन प्रजिअ र भन्सार प्रमुखलाई बारम्बार ताकेता गर्दा पनि नछोडेकाले त्यसको आक्रोशमा बेगमले हातपात गरेकी हुन्। वीरगन्ज भन्सारले केही दिनअघि अवैध रूपमा लुकाएर ल्याएको ट्रकका ११ वटा टायर ना३ख ९३५७ नम्बरको ट्रकबाट बरामद गरेको थियो। त्यसलाई छुटाउन बेगमले प्रजिअ र भन्सार प्रमुखलाई दबाब दिएकी थिइन्। उनका श्रीमान वीरगन्ज बाइपास रोडस्थित घरमा टायर रिसोलिङलगायत पार्टपूर्जाको पसल चलाउँछन्।

प्रजिअमाथि हातपात भएपछि बारा जिल्ला प्रशासन कार्यालय र पर्साका सबै सरकारी कार्यालय बन्द भएका थिए। 'यो एकदमै अकल्पनीय र निन्दनीय घटना हो,' स्थानीय निकाय कर्मचारी संघका जिल्ला अध्यक्ष मंकेश्वर ठाकुरले भने, 'यस्ता घटनाले जिल्लाका कर्मचारीको मनोबल घटेको छ।' उनले घटनाको बिरोधमा सडक आन्दोलन गर्ने चेतावनी दिए। जिल्लाका अन्य निजामती कर्मचारी संघसंगठनहरूले यो घटनालाई अमर्यादित र गैरकानुनीको संज्ञा दिदै बुधबारबाट अनिश्चितकालीन आन्दोलन गर्ने बताएका छन्।

वीरगन्जमा आयोजित 'माननीय महिला सभासद्हरूको छात्रा शिक्षा अभियान' अन्तर्क्रियाको प्रमुख अतिथिका लागि आएकी बेगमले सिमरा विमानस्थलमा आफूलाई लिन 'पुरानो पिकअप' पठाएको भन्दै भण्डारीलाई चार झापड हिर्काएकी हुन्। कार्यकर्तासहित सिमरा विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकी मन्त्री बेगमले स्वागत गर्न कार्यालय परिसरमा उभिएका भण्डारीलाई उनको कमिजको कलर समातेर झापड हानेकी हुन्। विमानस्थलमा सुरक्षाकर्मीका लागि (स्कटिङ) एक घन्टा कुर्दा पनि कोही नआएपछि प्रजिअलाई फोन गर्दा झर्केको उनले बताइन्। 'सिडियोलाई फोन गर्दा झर्केर म के गरुँ भने, मैले म त्यहीं आएर कुरा गर्छु भनें,' उनले सञ्चारकर्मीहरूसँग भनिन्, 'सिडियो अफिस पुगेर उनले मलाई हेपेको भनें। उनले औंला ठड्याएर के गरुँ त भनी उल्टै प्रश्न गरेपछि मैले चार थप्पड हानें।'

बेगमले जिल्ला विकास समितीको र्स्कोपियो गाडी मागेकी थिइन। तर, त्यो गाडी बिग्रिएकाले बनाउन काठमाडौं पठाइएको प्रजिअ भण्डारीले बताए। उनले कृषि औजार अनुसन्धान कार्यालय वीरगन्जको बा१झ ८१३५ नम्बरको मित्सुबिसी पठाएका थिए।
'स्कोर्पियो गाडीमा सिडिओ चढने? मन्त्री चढ्न नपाउने?' उनले आक्रोशित हुँदै सञ्चारकर्मीमाझ भनिन्, 'मन्त्री ठूलो कि सिडियो ठूलो?' पर्सा- १ बाट संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित बेगम फोरम लोकतान्त्रिककी हुन्। उनले यो घटनाबारे प्रधानमन्त्रीदेखि आफ्नो पार्टीसम्मलाई स्पष्टीकरण दिन तयार रहेको बताइन्। प्रजिअ भण्डारीले स्वागत गर्न उभिएको बेला मन्त्री बेगमले एकाएक पिट्न थालेपछि अचम्ममा परेको बताए। 'मैले केही भन्नै पाइनँ,' उनले भने, 'उनले पटापट पिट्न थालिन्।' पिटाइ खाए पनि मन्त्री तथा सभासद् पदको सम्मान गरेर प्रतिकार नगरेको उनले बताए। 'उनले मेरो चस्मासमेत फुटाइदिइन्,' भण्डारीले थपे, 'मन्त्रीले यस्तो कार्य गर्न सुहाउँदैन भन्दा झनै आक्रोशित भइन्।'

आफूले घटनाबारे गृहमन्त्रीलाई तत्काल जानकारी दिएको भण्डारीले बताए। 'मन्त्रीज्यूले मन्त्रीपरिषद्मा कुरा राख्छु भन्नुभयो,' उनले भने, 'प्रजिअलाई नै पिट्नेले जिल्लाका अन्य कर्मचारीलाई के गर्लान्?'घटनालाई बेगमकै दल फोरम लोकतान्त्रिकले 'अशोभनीय' भन्दै बुधबार बस्ने पार्टी बैठकमा गम्भीर छलफल हुने जनाएको छ। घटनाबारे मंगलबार दिउँसो प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता जितेन्द्र देवले जुनसुकै बहानामा पिटेको भए पनि उक्त कार्य 'अशोभनीय' रहेको बताए।

सीडीओलाई सँधै सत्कारको सास्ती
आफ्नो उचित मनितो नगरेको भनी कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका सिडिओ दुर्गाप्रसाद भण्डारीलाई कुटेपछि जिल्ला जाने ठूलाबडाको सत्कार कसको जिम्मेवारी हो भन्ने प्रश्न उब्जिएको छ। क्षेत्रीय प्रशासक, सिडिओ तथा प्रहरी प्रमुखहरूले मन्त्री र कार्यकर्ताको सत्कारमै समय, साधनस्रोतको दुरुपयोग भइरहेको भन्दै केन्द्रमा गुनासो गरिरहे पनि अहिलेसम्म सुनुवाइ भएको छैन। जिल्ला गएका भिआइपीहरूको सुरक्षाको मात्रै जिम्मा भए पनि व्यवहारमा सम्पूर्ण आतिथ्य सिडिओले गर्ने गरेका छन्। सरकारले उक्त शीर्षकमा रकम उपलब्ध नगराउने हुँदा पाहुनाको आतिथ्यमा लाग्ने लाखौं रकम विकासे, जनसम्पर्क र राजस्व कार्यालयहरूसँग गुहार मागेर जोहो गर्ने चलन छ। गृह मन्त्रालयका सहसचिव प्रेमकुमार राईका अनुसार सुरक्षाको प्रबन्ध मात्र कार्यक्षेत्र भए पनि गाडी, खानपान, बासको व्यवस्था सिडिओले नै गर्नुपर्ने अवस्था छ। 'अरु कार्यालयसँग मागेर काम चलाउनुपर्ने र आधा समय स्वागत/बिदाइमै खर्च भएको भन्दै व्यापक गुनासो आइरहेको छ,' सिडिओ सम्मेलन र मन्त्रालयमा हुने बैठकहरूमा उठ्ने मुद्दाबारे जानकारी गराउँदै उनले भने।

गृहका अनुसार झापा, मोरङ, जनकपुर, पर्सा, मकवानपुर, चितवन, रुपन्देही, बाँके, कैलाली, कास्की, काभ्रेपलाञ्चोक, इलामलगायतका सिडिओ पाहुनाबाट आजित छन्। मन्त्री, संवैधानिक पदाधिकारी र विशिष्ठ श्रेणीका कर्मचारीहरूको जिल्ला भ्रमण तय हुनेबित्तिकै सम्बन्धित मन्त्रालयले गृहमार्फत सिडिओलाई सुरक्षालगायत प्रबन्ध मिलाउन अनुरोध गर्ने गरेको छ।
'जिल्लामा काम गर्ने वातावरण नबिग्रोस् भनेर पनि सिडिओहरू अरु निकायलाई हारगुहार गरेर सेवा उपलब्ध गराउन बाध्य छन्,' राइले भने, 'यसले भ्रष्ट्राचारलाई बल पुर्‍याइरहेको छ।' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्री, अरु उच्चपदस्थले दैनिक भ्रमण भत्ता बुझ्ने र 'बलजफ्ती' प्रशासक/प्रहरीको पाहुना लाग्ने गरेका छन्। जिल्ला भ्रमणमा जाँदा मन्त्रीहरूले हवाइजहाज टिकट, होटल खर्च बिलअनुसार र दैनिक भत्ता ७ सय ५० रुपैयाँ पाउँछन्। स्रोतका अनुसार बिनाविभागीय राज्य र सहायकमन्त्रीहरू जिल्ला गएर हप्तौं कर्मचारीको पाहुना लाग्ने र हज्जारौं भत्ता दाबी गर्ने प्रवृत्ति देखिएको छ। बिनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले गृह जिल्ला पर्सा गएको भनी अघिल्लो महिना दैनिक भत्ताबापत एकमुष्ठ ६० हजार भुक्तानी मागेको बिषय मन्त्रिपरिषद्मा अझै चर्चामा छ।

मन्त्रीका कार्यकर्ता र ठूलाबडा कर्मचारी परिवार पनि सिडिओ, प्रहरी र जिल्लाका अन्य कार्यालय प्रमुखका लागि थप बोझ हुने गरेका छन्। 'सरकारसँग भत्ता लिने अनि मन्त्री तथा आसेपासे पाहुनाको ओइरो लाग्दा काम प्रभावित भएको गुनासो गृहमार्फत मन्त्रिपरिषद् समक्ष समेत आइरहेको छ, तर केही पनि निर्णय हुन सकेको छैन,' सचिव लिलामणि पौडेलले भने, 'वीरगंज घटनापछि केही नगर्ने हो भने जाडो महिनाभरि तराईका हाकिमको काम पाहुना पाल्ने मात्र हुन्छ।' पाहुनाको चापले भएको हैरानीबारे सिडिओ तथा प्रहरीले सोमबार पनि गुनासो गरेका थिए। मकवानपुरमा फास्ट ट्रयाकको उद्घाटन समारोहमा गएका मन्त्रीहरू, मुख्य सचिव र सचिवहरूसँग मध्यमाञ्चल डिआइजी नवराज ढकालले 'सानोतिनो कार्यक्रमको निहुँ पारेर हुने मन्त्रीहरूको भ्रमणले आजित बनाएको' बताए। 'हामी मन्त्रीहरूलाई स्कटिङ गर्दाको लगबुक बनाउँछौ। कम्तीमा त्यही विवरणअनुसार इन्धन उपलब्ध गराइदिनुपर्‍यो,' ढकाललाई उद्धृत गर्दै एक सचिवले भने, 'तेल माग्न हात फैलाउँदा फैलाउँदा हैरान भैसकियो।'

सुजाता फेरि सनक्क

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य एक्कासि धेरै नै गम्भीर भएपछि उहाँको उपचारबारे छोरी सुजाता कोइराला र चिकित्सकबीच विवाद भएको छ। बुधबार सिंगापुरका लागि उड्नुपर्ने कोइराला स्वास फेर्न कठिन हुनेगरी थलिएपछि हिजो सहिद गंगालाल अस्पतालमा भर्ना गरिएपछि अबको उपचार रणनीतिबारे छलफल गर्न डाक्टरहरूले कोइराला परिवारका दुई सदस्यलाई पनि बैठकमा साथै राखेका थिए। वातानुकूलित कक्षबाट बाहिर निकाले डेढ घन्टाभन्दा बढी समय कोइरालाका लागि सहज नहुने निष्कर्ष निकाल्दै डाक्टरहरूले सबै विधि र उपाय अवलम्बन गरेर यहीँ उपचार गर्ने निर्णय गरेपछि उपप्रधानमन्त्रीसमेत रहेकी सुजाताले असहमति जनाएकी थिइन्। उनले कोइरालालाई सिंगापुर लैजाने अड्डी कसिन्। भतिजा डा. शेखर कोइराला साथमा भए पनि उनले डाक्टरहरूलाई नै निर्णय गर्ने जिम्मेवारी दिनुपर्ने तर्क गरेका थिए।
अस्पतालको भिभिआइपीकक्ष जहाँ कोइरालालाई राखिएको थियो, त्यसको ठीक बाहिरको कक्षमा हिजो अपराह्न साढे चारदेखि भएको यस्तो छलफल सवा पाँचसम्म चलेको थियो। निकैबेर सुजाताले सिंगापुर नै लैजाने जिद्धी गरेपछि डाक्टरहरूले तपार्इं आफ्नो खुसी गर्नुहोस् भनिदिएका थिए। यो सबै सुनिरहेका बिरामी कोइरालाले अत्यन्तै अवरुद्ध स्वरमा सुजातालाई जिद्धी नगर्न भनेपछि उनी चुप लागेकी थिइन्। कोइरालाको उपचारमा संलग्न डाक्टरहरू भगवान् कोइराला, अर्जुन कार्की, मनबहादुर केसी, जगदीश अग्रवाल, यादव भट्ट, दिवाकर शर्मा र अस्पतालका निर्देशक अरुण मास्केसम्मिलित सो बैठकमा सुजाताले जिद्धी गर्दा डाक्टरहरूले परिस्थिति बुझ्न नचाहेको भन्दै 'ल लैजानूस्' भनी उठ्न खोजेका थिए। स्रोतका अनुसार, अस्पताल प्रशासनसँग यसअघि नै सुजाता रिसाएकी थिइन्। भिभिआइपीकक्षमा बिरामीका आफन्तहरू पुग्नका लागि अस्पतालले व्यवस्था गर्नुपर्ने पासका लागि शेखरको नाम भए पनि सुजाताको नाम दिइएको रहेनछ। उनी दिउँसो सो कक्षमा छिर्न खोज्दा अस्पतालका सुरक्षाकर्मीले रोकिदिएका थिए। त्यसपछि उनले ठूलै हल्ला मच्चाएका कारण पछि अस्पताल प्रशासनले उनका लागि विशेष पासको व्यवस्था गरिदिएको थियो।
यसैबीच, भाइरल ज्वरोका कारण थलिएका प्रधानमन्त्री माधवकुमार नेपालले हिजै कोइरालाको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूसँग कोइरालाको स्व्ास्थ्य अवस्थाबारे परामर्श गर्नुभएको छ। यही कात्तिक २८ गते विश्व खाद्य शिखर सम्मेलनमा भाग लिन इटालीको रोम जाने कार्यक्रम तय गर्नुभएका प्रम नेपालले सो कुराकानीपछि आफ्नो विदेशभ्रमण रद्द गर्ने निर्णय गर्नुभएको छ। स्रोतका अनुसार प्रम नेपालले कोइरालाका डाक्टरहरू अर्जुन कार्की र भगवान् कोइरालासँग निकै लामो परामर्श गर्नुभएको थियो। अपराह्न भएको यो कुराकानीपछि प्रम नेपालले मुख्यसचिव माधव घिमिरेलाई बोलाई सरकारका तर्फबाट कोइरालाको स्वास्थ्य लाभको कामनाका लागि अस्पताल जान निर्देशन दिएबमोजिम नै घिमिरे अस्पताल पुगेका थिए। यसैगरी व्यक्तिगत तवरमा कोइरालालाई भेट्न नेता र मन्त्रीहरूका अलावा सेनापति छत्रमानसिंह गुरुङ, पूर्वसेनापति रुक्मांगद कटवाललगायतका अधिकांश व्यक्ति पुगेका थिए।
स्रोतका अनुसार फोक्सोमा पानी जमेको र उमेरले पनि वृद्ध भइसक्नुभएका कारण प्रमका निजी चिकित्सकसमेत रहेका डाक्टर कार्कीले कुनै जादुमय उपचार हुन सकोस् भन्ने आशा प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका थिए। उपचारखर्चबारे कुनै चिन्ता नलिन प्रधानमन्त्रीले आश्वस्त पार्नुभएको बताइएको छ। त्यसो त गंगालाल लैजानुअघि पनि सिंगापुर जाँदाको उपचारखर्चबारे सुजाताले हिजै बिहान प्रधानमन्त्रीसँग कुराकानी गरेकी थिइन्। जति लागे पनि सरकारले खर्च गर्ने प्रधानमन्त्रीले बताएपछि त्यही अनुसार सहयोगीहरूसमेत लैजाने उनको योजना थियो। स्रोतका अनुसार कोइरालाका पूर्व निजी डाक्टर मधु घिमिरेले पनि एक साताअघि कोइरालालाई भेटेर सिंगापुरमा उपचारको व्यवस्था मिलाउने भन्दै उतै आउन सल्लाह दिएका थिए। डा. घिमिरे नेपाल छाडेपछि सिंगापुरमा बसी काम गरिरहेका छन्। युरोपेलीस्तरको औषधि उपचार गर्न सकिने भन्दै उनले कोइरालाको सिंगापुर यात्राको बाटो देखाइदिएका थिए। तर, अकस्मात्को कठिनाइका काराण कोइरालाको त्यताको यात्रा यसपटक सम्भव भएन। कोइरालाले आफू बिरामी अवस्थामै रहे तापनि सिंगापुर उड्नुअघि हिजो बिहान १० बजेका लागि नेपाली कांग्रेसका सिनियर नेताहरूलाई बोलाई राजनीतिक वार्ता गर्ने र निर्देशन दिने कार्यक्रम राख्न लगाउनुभएको थियो। कांग्रेसका नेताहरू कोइरालानिवासमा जम्मा हुने क्रम जारी रहेकै अवस्थामा कोइरालालाई अस्पताल लैजानुपरेको हो। स्रोतका अनुसार कांग्रेसभित्रको राजनीतिबाट कोइराला निराश र उत्तेजित दुवै हुुनुहुन्थ्यो। 'नेताहरूलाई गाली गर्ने मनसाय उहाँको थियो, तर अस्पताल भर्ना हुनुपरेपछि त्यो सम्भव भएन,' कोइरालानिवास स्रोतले जनआस्थालाई बतायो। यसअघि गत बिहीबार कोइरालाले रामचन्द्र पौडेल, सुशील कोइराला र शेरबहादुर देउवालाई बोलाउनुभएको थियो, तर उहाँहरू कार्यव्यस्तता भन्दै नगएपछि कोइरालाको उत्तेजना बढेको थियो। स्रोतका अनुसार नेताहरू नआएपछि कोइरालाले भतिजा शेखर कोइरालासँग 'तिमीहरू यो पार्टी हाँक्न सक्छौ?' भनी सोध्नुभएको थियो। शेखरले तपाईंलाई सन्चो छैन सानुबुबा, अलि ठीक भएपछि सल्लाह गरौँला नि! भन्दाभन्दै कोइरालाले आँट गर्न नसक्ने भन्दै कराउनुभएको थियो।

सुमार्गीको घरमा प्रचण्डको खाना

मकवानपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कात्तिक २२ गते दिउँसोे नवउद्योगपति अजय सुमार्गीको हेटौंडास्थित घरमा खाना खाएर काठमाडौं फर्किएका छन्। एकीकृत नेकपा माओवादी मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीको वीरगञ्ज सम्मेलनको कार्यक्रम सकेर राजधानी फर्कने क्रममा अध्यक्ष प्रचण्ड करिब दुई घण्टा सुमार्गीको हेटौंडा–४ मा रहेको सुमार्गी कम्प्लेक्समा बसेका थिए। प्रचण्डको टोलीका लागि उद्योगपति सुमार्गीले खानाको व्यवस्था गरेका थिए। स्थानीय तहमा कसैलाई पनि जानकारी नदिई प्रचण्ड सुमार्गीको घरमा खाना खान पसेका थिए। प्रचण्डसँग सीपी गजुरेल 'गौरव' समेत रहेका थिए। अध्यक्ष प्रचण्ड निजी सुरक्षासहित करिब १२ बजेतिर त्यहाँ पुगेका थिए। अर्को गाडीमा आएका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' भने सुमार्गीकहाँ नपसी सीधै चितवनतर्फ लागेका थिए। प्रचण्ड आइपुगेको थाहा पाएपछि सुमार्गी कम्प्लेक्समा आइपुगेका कार्यकर्ताहरूमध्ये थोरैलाई मात्र भुइँतल्लामा प्रवेश दिइएको थियो भने अन्यलाई प्रवेश निषेध गरिएको थियो। मकवानपुरका सभासद्हरू दिलबहादुर घिसिङ, प्रेमबहादुर पुलामी, वाईसीएल जिल्ला अध्यक्षलगायतका व्यक्तिले अध्यक्ष प्रचण्डलाई भेट्न पाए पनि अन्य कार्यकर्ताहरूले भने नरमाइलो मानेका थिए।

मन्त्राणीको राइँदाइँ

काठमाडौं। मन्त्रालयमा मन्त्रीको भन्दा पनि मन्त्राणीहरूको हैकम बढी हुन थालेको चर्चा कर्मचारीहरूले गर्न थालेका छन्। स्रोतका अनुसार विशेषगरी नेपाली कंाग्रेसका दुई मन्त्री बालकृष्ण खाँड र डा. प्रकाशशरण महतको मन्त्रालयमा मन्त्राणी हावी हुन थालेका छन्। सिँचाइमन्त्री बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडले हालसालै सिँचाइ विभागका तीन दर्जनभन्दा बढी इन्जिनियर र ओभरसियरको सरुवामा मोटो कमिसन लिएको चर्चा विभाग परिसरमा हुने गरेको छ। माओवादी नेतृत्वको सरकारले बढीभन्दा बढी जनतालाई रोजगारी दिने र बढ्दो नदी कटान नियन्त्रण गर्ने उद्देश्यले ल्याएको जनताको तटबन्ध कार्यक्रमका सातवटा फिल्ड कार्यालयका लागि काजमा सरुवा गर्ने क्रममा मन्त्राणी खाँडले निकै ठूलो मोलमोलाइ गरेको स्रोतले जनाएको छ। आस्थाका आधारमा वामपन्थी निकट भएकाहरूलाई भेदभाव गरी अवसरवादी, भ्रष्ट र कांग्रेसको खोल ओढेकाहरूले मात्र मौका पाएका छन्। मन्त्राणी खाँड र मन्त्री महतका स्वकीय सचिव जन्मजय तिमिल्सिनाको योजनामा शुभलाभकै आधारमा सीडीई, इन्जिनियर र ओभरसियर खटाइएको स्रोतले जनाएको छ। जनताको तटबन्ध कार्यक्रमको फिल्ड कार्यालय झापामा सूर्यदेव थापा, चितवनमा प्रदीप थापा, दाङमा मोहन संग्रौला, बुटवलमा श्यामबहादुर कार्कीलगायतका सीडीईलाई खटाइएको छ। मन्त्राणी खाँड हरबखत गाडी लिएर होटलहरूमा भ्रष्ट सीडीईहरूसँग मोलमोलाइ गर्न व्यस्त रहने गरेको स्रोतले साँघुलाई बतायो। सीडीई खटाउँदा कसले बढी शुभलाभ टक्र्याउँछ, मन्त्राणी खाँडले उसैलाई प्राथमिकतामा पारेको चर्चा छ। भ्रष्टाचारमा बदनाम सीडीई र इन्जिनियरहरूले नै मन्त्राणीलाई खुसी पारेकाले जाने मौका पाएका छन्।
त्यस्तै, ऊर्जामन्त्री प्रकाशशरण महतकी पत्नी विना महतले पनि विद्युत् प्राधिकरणका नियुक्ति, सरुवा–बढुवा र ठेक्कापट्टामा निकै चासो दिने गरेको चर्चा छ। मन्त्राणी महतको हस्तक्षेपका कारण दशैंको मुखमा तीन तहको क्लर्कको परीक्षाफल प्रकाशित गर्ने क्रममा लाखौं पैसा खाएर पार्टीका कार्यकर्ताको नाम ननिकालेको आरोप मन्त्री डा. महतमाथि लाग्ने गरेको छ। मन्त्रीपत्नी विना महतको हस्तक्षेपका कारण प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झासमेत निकै तनावमा परेको गुनासो आफ्ना निकटस्थहरूसँग गर्न थालेका छन्। मन्त्रीपत्नी महत र मन्त्रीका स्वकीय सचिव प्रबल अधिकारी पाँचतारे होटलमा बसेर प्राधिकरणका हाकिमहरूलाई बोलाएर दबाब दिने गरेको गुनासो पनि केही हाकिमहरूले गर्न थालिसकेका छन्।
यसैबीच मन्त्रीपत्नीकै दबाबमा गिरी थरका एक पत्रकारलाई डकुमेन्ट्री बनाउने बहानामा चमेलियागार्ड आयोजनाबाट चार लाख भुक्तानी दिइएको छ। निर्माणाधीन उक्त आयोजनाका प्रमुख केशवराज भट्टले मन्त्राणीको आदेशमा डकुमेन्ट्री बनाउन ती पत्रकारलाई चार लाख रुपैयाँ उपलब्ध गराएका हुन्। दार्चुलामा निर्माण हुने उक्त परियोजनाका प्रमुख भट्टले पनि आफ्नो पद बचाउन उक्त डकुमेन्ट्रीको भुक्तानी दिन बाध्य भएको बताउने गरेका छन्। कांग्रेसको महासमिति बैठकको अन्तिम दिन २०६६ कात्तिक १८ गते अर्घाखाँचीका एक महासमिति सदस्यले ऊर्जामन्त्री डा. महतले विद्युत् प्राधिकरणमा व्यापक भ्रष्टाचार गरेकाले उनलाई तत्काल कारबाही गर्नु पर्ने माग गरेका थिए। महासमितिको बैठकमा मन्त्री मध्ये सबैभन्दा बढी आलोचना डा. महत र खाँडकै भएको थियो। उनीहरूले पार्टीका कार्यकर्ताको काम नगरी पैसा खाएर नियुक्ति र सरुवा–बढुवा गरेको आरोप अधिकांश कार्यकर्ताले लगाएका थिए।
गाडी दुरुपयोग
यसैबीच, ऊर्जामन्त्री डा. महतले प्राधिकरण र मध्यमर्स्याङ्दी आयोजनाका गरी सातवटा भन्दा बढी गाडी दुरुपयोग गरेका छन्। मन्त्री महतले प्राधिकरणबाट बा३च ४०५२, बा६च १०२६, बा३च ४०५३ र बा३च२५१८ नम्बरका गाडी दुरुपयोग गर्दैआएका छन्। मन्त्रालयले मध्यमर्स्याङ्दी आयोजनाबाट पनि २०६६ असोज ६ गते बा५च३५५५, बा६च ६७४०, बा२च २९२५ नम्बरका गाडी लिएका छन्। ती गाडी कसले प्रयोग गरेका छन् भन्ने कुरा प्राधिकरण र ऊर्जा मन्त्रालयले स्पष्ट जवाफ दिन सकेका छैनन्। मध्यमर्स्याङ्दीका गाडीले त अझ दुवैतिरबाट इन्धन सुविधा लिने गरेको स्रोतले जनाएको छ।

लैला–मजनुको मन्त्री बन्ने धुन!

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर यसअघि दुई फ्याक भइसकेको मधेशी जनअधिकार फोरम पुनः फुट्ने भएको छ। सरकारमा जाने विषयलाई नै लिएर फोरम फुट्न लागेको हो। यसअघि विजय गच्छदारको नेतृत्वमा फोरम फुटेको थियो भने अब जयप्रकाश गुप्ताले फोरम फुटाउने सम्भावना बढेको छ। उपेन्द्र यादवले उपप्रधानमन्त्री पाएर सरकारमा गएमा फोरम फुट्ने निश्चित रहेको एक नेताले बताए। यसअघि पनि विजय गच्छदारले उपप्रधानमन्त्री पाएर सरकारमा गएपछि फोरम फुटेको थियो। जेपी गुप्ता समूहले सरकारमा जानैपर्ने दक्षिणतिरको दबाब धान्न नसकिएमा दोस्रो तहका नेताहरूलाई सरकारमा पठाउनुपर्ने प्रस्ताव राखेको छ। तर, उपेन्द्र र रेणु यादवहरूको समूह उपेन्द्रकै नेतृत्वमा जाने पक्षमा उभिएको छ। नौ महिना सरकारमा रहँदा आकर्षक शुभलाभ हातपारेका उपेन्द्र–रेणु जोडीले पैसाकै लागि सरकारमा जान जोडबल गरेको तर्क पनि कतिपय फोरम नेताहरूको छ। 'मधेशको राजनीति नै पैसाले चल्छ, कुनै पनि मधेशी नेता सरकारमा नगई लामो समयसम्म सडकमा बस्नै सक्दैनन्,' एक मधेशी नेताले भने। वर्तमान सरकारमा विजयकुमार गच्छदारभन्दा वरिष्ठता पाए सामेल हुन आतुर भइसकेका उपेन्द्र यादवलाई दक्षिण छिमेकीले पनि पटक–पटक सरकारमा जान दबाब दिइरहेको छ। आफ्नाविरुद्ध जेपी गुप्ताले नै खेल खेल्न थालेपछि सशंकित भएका यादवले आफूले भनेजस्तो नभएमा रेणु यादवलाई सरकारको नेतृत्व गरेर पठाउने धम्की दिएका छन्। फोरमभित्र लैला–मजनुको जोडीका रुपमा चर्चित उपेन्द्र र रेणुको सम्बन्ध यति गहिरो भइसकेको छ कि उपेन्द्रकी पत्नीले छाडेर माइती जाँदासमेत उनले रेणुसँगको उठबस नछाडेको फोरम नेताहरू गुनासो गर्छन्। जेपी गुप्ताले सरकारको नेतृत्व गरेर जाने षडयन्त्र गर्न थालेपछि उपेन्द्रले आफ्नी अन्तरंग महिला रेणुलाई सरकारको नेतृत्व गरेर पठाउन लागेका हुन्। यद्यपि, गच्छदारभन्दा माथिल्लो वरीयतामा उपप्रधानमन्त्री बन्ने उनको प्रयास भने दिल्लीमा पनि जारी थियो। उपेन्द्रले आफू जान नपाएमा रेणु यादव, बीपी यादव र रत्नेश्वरलाल कायस्थलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताइएको छ।

धनाढ्यको पंक्तिमा तीन कमरेड

काठमाडौं। नेकपा (माओवादी) का चारजना नेताहरू धनाढ्यको सूचीमा समावेश भएका छन्। पार्टीले आर्थिक गठन गरेको आर्थिक छानबिन समितिमा परेको उजुरीको आधारमा माओवादीमा चारजना नेता धनाढ्य कहलिएका हुन्। त्यसरी धनाढ्य सूचीमा समावेश हुने नेताहरूमा जनार्दन शर्मा 'प्रभाकर', दीनानाथ शर्मा, वर्षमान पुन 'अनन्त' रहेको कुरा माओवादी सूत्र बताउछ । जनार्दन शर्माको आर्जन अपारदर्शी रहेको, जनमैत्री अस्पतालमा चार करोड रुपैयाँको शेयर हालेको, मुनलाइट टेलिभिजन, नेपाल एफएममा लाखौं रुपैयाँ लगानी गरेको पार्टीले गठन गरेको छानबिन समितिमा उजुरी परेको बताइन्छ। सो लगानीको स्रोत छानबिन हुनुपर्ने माग उजुरी गर्नेकर्ताहरूले गरेका छन्। उता, अनन्त (वर्षमान पुन) ले पनि हालै ललितपुरमा घर खरिद गरेको पार्टीमा उजुरी परेको सूत्र बताउछ। उक्त घर आफन्तको भनी नेता अनन्तले बताए तापनि अहिलेसम्म घरको मूली फेला नपरेको कारणले गर्दा उक्त घर अनन्तले नै खरिद गरेको उजुरी पार्टीमा परेको छ। उता, माओवादीका प्रवक्ता दीनानाथ शर्माले आर्जन गरेको रकम आफ्नो ज्वाइँ शुभशंकर कँडेलका नाममा एबीसी टेलिभिजनमा लगानी गरेको उजुरी पार्टीमा परेको कुरा माओवादी सूत्र बताउछ ।
त्यसो त, धेरैजसो माओवादी शीर्ष नेताहरूको विरुद्ध अवैधानिक रुपमा सम्पत्ति आर्जन गर्ने भनी उजुरी परेको छ। पार्टी निकट स्रोतका अनुसार माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्ष डा. बाबुराम भट्टराई र सीपी गजुरेलको विरुद्ध मात्र कुनै उजुरी परेको छैन। पार्टीमा परेको उजुरीको बारेमा निष्पक्ष रुपमा छानबिन हुनुपर्ने माग जोडदार रुपमा उठेको छ। पार्टीको शीर्ष नेताहरूले गरेको आर्थिक अराजकताको अन्त्य गर्न नसकेमा सिंगो पार्टी नै आर्थिक अराजकताको खाडलमा जाकिने आवाज कार्यकर्ता पंक्तिबाट उठेको छ। पार्टीका नेताहरूको विरोधमा परेको उजुरी छानबिन हुने/नहुने भन्नेबारेमा यकिन हुन भने अहिलेसम्म सकेको छैन।

गुरुकुलको लोभलाग्दो थकाइ

विराटनगर- आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यहाँलाई स्वागत छ 'यो साधना गर्ने थलो हो 'यसका केही नियम छन् 'केही नखाइदिनु होला 'मोबाइलको स्विच बन्द गरेर यान्त्रिक आतंक बन्द गरिदिनु होला ...।' नाटक सुरु हुनुअघि आयोजकका तर्फबाट यो आग्रह प्रसारित भयो। ए 'यो त काठमाडौंको सम नाटकघर वा रिमाल नाटकघर त होइन रहेछ। तर, सबै परम्परा उस्तै। यसमा पस्किइने नाटकको स्वाद उस्तै। उस्तै गुणस्तरयुक्त र आफ्नोपनको अनुभूति हुने। गुरुकुलको यो आफ्नोपनले निकै छिटो यहाँ सबैको मन जित्न थालेको छ। स्थानीय साहित्यकारदेखि प्रहरीसम्म, राजनीतिकर्मीदेखि मजदुरसम्मले यो नाटकघरलाई यस क्षेत्रको एउटा अनुपम नमूनाका रूपमा आत्मसात् गर्न थालेका छन्।


नाटकको सशक्त प्रभावको असर बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा देखियो। प्रायः झैझगडा र मुद्दामामिलाले व्यस्त हुने मोरंगको जिल्ला प्रहरी कार्यालयको छतमा एक हुल रंगकर्मी भेला भएका छन्। उनीहरू कुनै मुद्दामामिला लिएर होइन जिल्ला प्रहरी प्रमुखको चियापानको निमन्त्रणा मान्न त्यहाँ पुगेका हुन्। रंगकर्मीहरूलाई स्वागत गर्दै प्रहरी प्रमुख देवेन्द्र सुवेदी भन्छन्, 'समाज परिवर्तन गराउन तपाईंहरूको ठूलो भूमिका छ।' यी प्रहरी अधिकृतले एक महिनादेखि चलिरहेको नाटक महोत्सवमा आउनेहरूको भीडले आश्चर्यचकित भएका रहेछन्। उनी आफैंले केही नाटक हेरे। त्योभन्दा बढ्ता जिल्ला प्रहरी कार्यालयअन्तर्गत आएका धेरै प्रहरीले यो मौका छुटाएनन्। उनी अन्तिम तीन दिन समापन नाटकका रूपमा मंचित 'न्यायप्रेमी' हेर्न चाहन्थे। तर, आन्दोलनका कार्यक्रमले सम्भव भएन। 'केही बेर भए पनि तपाईंहरूसँग बसेर मनलाई आराम दिऔं भन्ने चाहेको हुँ,' सुवेदीले भने, 'यसलाई यहाँहरूले राज्यका तर्फबाट गरिएको सम्मानका रूपमा बुझिदिनु होला। हामी सदैव तपाईंहरूको पछाडि छ।'

सुवेदीले मायाको चिनोका रूपमा गुरुकुलका प्रमुख सुनील पोखरेल र निशा शर्मालाईलाई करुवा उपहार दिए। जवाफमा उनीहरूले प्रहरीलाई पुष्पगुच्छा। न्यायप्रेमीका सबैजसो कलाकार सञ्जीव उप्रेती, दिलभूषण पाठक, विष्णुभक्त फुँयाल, प्रवीण खतिवडा, बसन्त भट्ट, सरिता गिरी, सौगात मल्ल, सुरेश चन्द, रामहरि ढकाल लगायत अन्य नाटकका कलाकारको समेत उपस्थिति थियो। सहरमा एउटा नयाँ परिचय थपिएको छ- गुरुकुल। काठमाडौंमा डेराको समस्याले अल्भि्करहेको गुरुकुलको हाटखोलामा आफ्नै रंगमञ्चसहितको संरचना छ। चारैतिर मन्त्र लेखिएका लुङ्दर र तोरण झुण्डिएका छन्। नयाँ रंगमञ्च हातामा बिरुवा रोपिँदै छन्। एक महिनादेखि यहाँ नाटकको प्रदर्शन हरेक दिन (कहिले दुई सोसमेत) भइरहेको छ। यसबीच यसले 'अग्निको कथा', 'जात सोध्नु जोगीको', 'पुतलीको घर', 'राबाजी लैलै...', .'मायादेवीको सपना', 'छुताहा घैल (मैथिली)', 'डा. कनक' प्रदर्शन गरेको छ। नाटक हेर्ने कामसँगै यहाँका साहित्यकारदेखि राजनीतिकर्मीसम्मलाई भेटघाट गर्ने थलोका रूपमा स्थापित हुन थालेको छ।


यो नाटक घर यहाँको एउटा नयाँ गन्व्यका रूपमा स्थापित भएको छ। देशभित्रका मात्र होइन नाटकप्रेमी विदेशीसमेत एकपटक यहाँ आएर हेर्न थालेको देखियो। झण्डै १२ कठ्ठा जग्गामा फैलिएको यो संरचना निर्माणाधीन छ। र, बनिसकेका संरचनामा पहाड र मधेसको संगमजस्तो बनेको छ। राजधानी काठमाडौंबाट समेत यो मौका नछुटोस् भनेर यसबीच धेरैजना आइसकेका छन्। बिहीबार नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा आइपुगेका थिए भने शुक्रबार काठमाडौं महानगरपालिका पूर्व नगरपिता केशव स्थापित। एकैछिनपछि पूर्वाञ्चल डिआइजी भीष्म प्रसाई आइपुगेका थिए। शान्ति सुरक्षा स्थितिका कारण नाटक हेर्न नभ्याए पनि यहाँको आनन्द अनुभूत गर्न चाहन्थे। गुरुकुलको नाटक महोत्सवको सफलता पहिल्यै दिनबाट सुरु भएको छ। हरेक दिन नाटक हेर्नेहरूको ठूलो भीड छ। दुई सय २० सिट क्षमताको सुशीला कोइराला नाटकघरमा बस्ने ठाउँ नपुगेर अहिल्यैदेखि भुइँमा गलैंचा ओछ्याउनुपर्ने अवस्था आएको छ। 'न्यायप्रेमी' जस्तो गम्भीर नाटक प्रदर्शन भइरहेको बेला समेत 'पिनड्रप साइलेन्स' अनुभव भएको थियो। यसले यस क्षेत्रमा रहेको रिक्तता कम गरेको बताउने धेरै छन्। 'विराटनगर पहिलेदेखि नै साहित्य, संगीतको थलो हो, गुरुकुलले अर्को एउटा केन्द्र थपियो,' नाटक हेर्न बिहीबार आइपुगेका कथाकार परशु प्रधानले भने।


महिना लामो महोत्सवको थकाइबीच गुरुकुलका प्रमुख सुनील पोखरेल साँझ आँगनमा बिरुवा रोप्न निर्देशन दिइरहेका थिए। 'अलि ठूलो घेरा बनाउनुपर्छ,' उनी निर्देश गर्दै थिए, 'हिँड्ने मानिसले यसका पात छुन नपाउन्।'
राजधानीबाहिर गुरुकुलको शाखा खुलेर यहाँसम्म ल्याइपुर्‍याउँदा सुनील थाकेका छैनन्? 'एक महिना बितेको पत्तै भएन,' उनी भन्छन्, 'कल्पना गरेकोभन्दा धेरै राम्रो भयो।' किनभने यस्तो माहोल आउन काठमाडौंमै केही वर्ष लागेको थियो। उनलाई लागेको थियो, अहिलेलाई कम्तिमा पाँच-सात जनामात्र आए पनि धन्य हो। यो सफलताले प्रत्येक वर्ष चैतमा यहाँ काठमाडौंमा देखाइएका राम्रा नाटकको महोत्सव गर्ने योजना बनाउन उनलाई प्रेरित गरेको छ। र, यहाँको नाटक घरले पनि वर्षभरि नाटकको मञ्चन, कविता वाचन र सांगीतिक कार्यक्रमका निम्ति मञ्च उपलब्ध गराइरहने भएको छ। 'थकाइ त लागेको छ, तर यो मजाको थकाइ हो', खुसी हुँदै पोखरेलले भने।

अभिषेकलाई दीपिका

मुम्बई, कात्तिक २४ (एजेन्सी)- आशुतोष गोवारिकरले अभिषेक बच्चनलाई हिरो लिएर बनाउन लागेको फिल्म पछिल्लो महिनाभर हिरोइनका कारण चर्चामा रह्यो। पुरानो समयलाई पर्दामा उतार्ने भनिएको फिल्म ‘खेलें हम जि जान से'लाई अहिलेसम्म तीन हिरोइनले अस्विकार गरेका छन्। सबभन्दा पहिले फिल्ममा ऐश्वर्या रायलाई लिने भनिए पनि उनले समयको समस्या देखाएर फिल्म खेलिनन्। त्यसपछि आसिनलाई हिरोइन लिएर सुटिङको तयारी गरिरहेका बेला उनले पनि अन्तिम समयमा आएर खेल्न मानिनन्। जनाइएअनुसार अस्विकार गर्ने हिरोइनको भीडमा अहिले अर्को नाम पनि थपिएको छ सोनम कपुर। जम्माजम्मी दुई फ्लप फिल्ममा अभिनय गरेकी अनिल कपुरकी छोरी सोनमले पनि अस्विकार गरेपछि अन्नतः आशुतोषले दीपिका पादुकोणलाई फिल्ममा लिएका छन्। यसअघि सोनम र अभिषेकले राकेश मेहराको फिल्म ‘दिल्ली सिक्स'मा अभिनय गरेका थि । र यो फिल्म फ्लप भएको थियो। दीपिका आएपछि यसै साता फिल्मको सुटिङ सुरु भएको छ।