शाहरुख खानले सम्राट अशोकको भूमीका गरेको फिल्म 'अशोका'का निर्देशक सन्तोष शिवम् शिवम्ले सोधे, 'म मेरो फिल्म अशोकामा तिमीलाई किन लिऊ?''तपाईको च्वाइस् हो।' अनुप बरालले यत्ति भने, 'म भन्दा पनि राम्रा कलाकार छन्। म त आफ्नो काम देखाउन चाहन्छु।' यो संबाद हुनु अघि, हिन्दी फिल्म अशोकाको अडिशनमा अनुपले आफ्नो बायोडाटा देखाएका थिए। जसमा 'गुणस्तरीय चिन्ह' अंकीत एनएसडी पनि थियो, र थियो- डेलियम बाइकमा सवार फोटो। 'यो तिम्रो बाइक हो?' शिवम्ले सोधे।'होइन' अनुप खिस्स हाँसे। 'कस्को हो त?''फिल्मको सु
टिङमा खिचेको फोटो हो।' 'त्यसो भए, बाइक चलाउन आउछ?''आउदैन।'अनुपलाई लाग्छ, आफ्नो सोझो खाले निर्दोष जवाफ (जून शहरले खोसी सकेको थिएन) सुनेर शिवम् प्रभावित भए। 'यदि मेरो फिल्ममा तिमीलाई मेल खाने रोल भेटे भने बोलाउछु।' भन्दै शिवम्ले बिदा गरे। जून फिल्मको सुटिङमा डेलियम बाइकमा अनुप चढेका थिए, त्यही फिल्म 'अंशबन्डा'को बाकी एउटा गीत पुरा गर्न काठमान्डू आइपुगे। काठमान्डूको भीडमा अनुप टेलिफोनमा पनि नभेटिने गरि 'फेडअप' हुदै गए। जव घर पोखरा पुगे, थाहा पाए, बम्बइबाट पो फोन आएको रैछ। ए म त छानीएको पो रैछु, अनुपको हंशले ठाऊ छोड्यो। हतारिदै जव उनी बम्बइ पुगे। फिल्म सुटिङस्पटमा पुगीसकेको थियो। र, अनुपका लागी छानीएको रोलमा राहुलदेव (जो फिल्मभरि हिरोइनसंगसंगै हुन्छन्) गर्जीन थालीसकेका थिए। 'तिमी ढिला आइपुर्ग्यौ', शिवम्ले भन्दिए, 'अव तिम्रो चान्स सक्यो।'फुसफुस झरेको पानीेले सडक ओस्याउदै गएको बुधबारको मध्यदिन पुरानो बानेश्वरको एउटा क्याफेमा सिगरेटको सर्को उडाउदै अनुप भावुक हुन्छन्। उनलाई लाग्छ, 'लक' पनि जीवनका लागी एउटा महत्वपूर्ण शव्द हो। सपनाको गहुगो भारी बोक्दा निधारभरि बसेका नाम्लोका छाप बोकेर शहरमा कयौ मानिस भौतारिरहेका छन्। उनीहरु मध्ये अनुप पनि एक हुन्। अनुपलाई लाग्छ- धेरै मानिस सहरमा सपनाको नेगेटिभ बोकेर रंगीन धुलाउन कलरल्यावको खोजीमा आइपूग्छन्। र, शहरको अधिकाँशभीडले कलरल्याव भेट्टाउँन सक्दैन। अनुपलाइ भने अहिले (कम्तीमा यो गफ गर्दा) लाग्छ- म कलर ल्यावको छेऊछाऊमा छु। एकदिन भेट्टाइ छाड्छु। किनभने, अनुपको ब्यस्तता एकाएक बढेको छ। उनी कयौ नेपाली चलचित्रको 'हिरो' भएर आफूभन्दा धेरै इन्च अग्लो पर्दामा देखिनेवाला छन्। यो अर्न्तबार्ता पछि उनलाई कुदेर 'दासढूंगा'को डविङ्मा पुग्नु छ। कयौ मिटिङ छन्, जो अव अनुपको काधमा भारि राखेर सुटिङस्पटतिर पनि पुग्नेवाला छन्।पुटुक्क बढेको भुडी घटाउन एकाबिहान 'सेटअप' गरेपछि अनुपको दिन सुरु हुन्छ। कहिलेकाही त मध्यरातमा सकिन्छ। कुनैदिन जमघटमा यसो 'रसपान' भएपछि अनुप बिहानै उठेर भुडी घटाउने र शरिर तन्दुरुस्त लठारो गर्देनन्। कहिलेकाही आफ्नो जीवनको 'म्यानेन्म्यान्ट'को गल्तीले पोल्छ। अव हिड्दा लर्खराउनु पनि भएन। लर्खरायो भने हिड्न सकिन्न। हिड्नुजती त हिडियो। अव दर्गुनु छ। उछिन्नु छ, समयलाई। समयसंग कुम जुधाएर हिड्न सकिएन भने धेरै पछि परिन्छ, अनुपलाई थाहा छ। अव भने अल्ली पछि पर्दा घच्घाउने अतित पनि त छ, अनुपसंग। फेरि बेलाबेला घच्घचाउने अतित भएन भने पनि जीवनको के मज्जा? चालिसको दशकको पोखरा। गाऊ नरहेको र शहर बन्न नसकेको पोखरा। अनुपको किशारावस्दा त्यही बित्यो। दशैबिदामा फर्केका लाहुरेले ल्याइदिएको नयापनले उनलाई पनि गाज्यो। अमेरिकी झन्डा अंकीत टिसर्ट। फलामको ठूलो 'वकल' भएको बेल्ड। बकल कम्तीमा आधा किलो जतीको। हातमा हाफ पन्जा। उल्टो क्याप। अगाडी चिउडो छुनेगरि झुन्डिने पंकफेसनको कपाल। त्यसबेला अनुपको पहिरन थियो। अरु साथीहरुको पनि त्यस्तै। नाइकको जुत्ता पनि फेसनमै थियो तर त्यो किन्न सकिने स्थिती थिएन। रहर पुरा गर्न अुनपले पन्डा जुत्तामा आफैले 'नाइक'को लोगो बनाएर पनि लगाए। भैसीलाई घास काटेर फुर्सद भयोकी अनुपको ग्याङ ठूलो टेपरिकर्डरमा गीत घन्काउदै मानिसको भीड खोज्दै हिड्थ्यो। भीड भेटियो की बे्रक डान्स सुरु। 'वेकप, स्ट्यान्ड अप।'माइकल ज्याक्सन, डेभिड बोय, ह्यम, बिटल्स, इगल्स र बबमार्लीका गीतमा कति नाचे कती। कति मान्छे यस्तो ग्याङ देख्दा हैरान हुन्थ्यो। डोकोभरि सुन्तलाको पसल थालेका महिलाहरु मुख छोप्दै हास्थे। र, अनुप ठान्थे, हामीले आफ्नो प्रतिभा देखायौ। 'त्यो सायद एउटा बद्लिदै गएको समाजमा आइडेन्डिको खोजी थियो।' अनुप अहिले यस्तो भन्छन्। अनुप त्यसबेला पोखरेली शहरमा हुर्किए। पोखरा शहर त हुदै गएको थियो तर घरका दलिनमा भने फर्सि झुन्डिएकै हुन्थे। अलीकती आफ्नोपन त बचेकै थियो। मानिसको अनुहारबाट निर्दोषपन खुइलिएको थिएन। जव अनुप दिल्ली पुगे। बल्ल थाहा पाए, शहर कस्तो हुन्छ। आकाशचुम्बी महल एकातिर छन् छ, धर्तिचुम्वि झोपडी अर्कोतिर। अंग्रेजीमा 'सल्म' भनिने झोपडपट्टिमा पनि तिनै मानिस थिए, जो सित सपनाको नगेटिभ थियो। जसले कहिल्यै कलरल्याव भेट्टाउन सकेका थिएनन्, जसले सपना रंगीन बनाइदिन्थ्यो। कतै मेरो पनि सपनाको नेगेटिभ खुइलिएर त जादैन। अनुपले जोगाए। उनले धेरै हिन्दी साहित्यका पन्ना पल्टाए। आर्ट ग्यालरी पुगे। बल्ल पोखराको हिपहप ठिटोले बुझे, हामी त साच्चै बामपुड्के रैछौ। दिल्लीमा त जती अग्ला घर- उती अग्ला बिचार। ओभरकोटमा सजिएर, कुकुर डूलाउदै कनाटप्लेस पुगेर कफीको चुस्कीमा गफ चुट्ने 'लेखक' पनि अनुपले त्यही देखे र सोचे- लेखक पनि गजबै हुदा रैछन्। त्यस्ता लेखक कहिलेकाही सडकमा 'कट्चाय' पनि पिइरहेका देखीन्थे। सडकमा भौतारिएर हिड्नेहरु पनि कम्ती थिएनन्। माथी कूर्ता तल जिन्स, छालाको चप्पल र लेदरको कालो व्याग बोकेर बाराखम्बा रोडका ठाऊठाऊमा सजिएका 'गोलपार्क' मा फनफनी चक्कर लगाइरहन्थे। ति मध्ये एक त अनुप पनि थिए नै। 'नेशनल स्कुल अफ् ड्रामा' असल बिद्यार्थी थिए र त फुर्सदमा बाराखम्बा वरीपरी अनुहार हराउने चिन्तामा भौतारिहन्थे। 'शहरले अपरच्यूनिटी दिन्छ।' त्यसताका अनुपले बुझेको कुरा हो, 'र, शहरमै आफूसंग बिचार मिल्ने मानिस भेटिन्छन्।' दिल्लीको चार बर्षे बसाइमा अनुपले शहरको अर्को कुरा थाहा पाए- शहरले कहिलेकाही निरोध कन्डम र साहित्य छुट्टाउन नसक्ने बनाइदिन्छ। अनुपमा अर्को परिवर्तन पनि आयो- पोखराबाट बोकेर लगेको 'हिपहप' लाई कुरियाट्टम नृत्यले कप्लकै खाइदियो। कथककलीका अगाडी हिपहप केही होइन, अनुपले सोचे, कलाका सबै चिज जमीनसंग गासिएका राम्रा हुन्छन्। 'नेपाल नरेश तिमी बम्बे आऊ।' एनएसडी घुम्न आएका नसुरुद्धिन शाहले गफैगफमा भनिदिए- 'म तिमीलाई सक्दो सहयोग गर्छु।'अव झन् अनुपको सपनाले पखेटा फिजायो। अनुप एनएसडीको पढाइ सक्केपछि, बम्बइ जाने भए। नसुरुद्धिनलाई फोन पनि गर्ने भए तर उनलाई थाहा थिएन, नसुरुद्धिनको घरमा यस्ता फोन कमै उठ्छन्।
प्रत्येक दिन बम्बेमा एक लाख मानिस सपना बोकेर आउछन्। भौतारिन्छन् र सपना छाडेर फर्किन्छन्। बम्बे रहस्यको शहर हो। एकरातमै मानिस करोडपति हुन्छ र एकरातमै रोड पति। रोडमै सुत्नेहरुले 'हप्ता' बुझाउनु पर्छ- अुनपले त्यही पुगेर थाहा पाए।
बम्बेको स्पिड यति तिब्र थियोकि स्लो स्पिडिका अनुपलाई र्याख्र्याख्ती पार्यो। एक कल फोनको प्रतिक्षामा हरेक पल तयारीमा बस्नु पर्ने। फोन आयो कि कुद्यो र आफूभित्र अटेशमटेश भएका प्रतिभाका मेनु पेश गर्यो। म को हुँ?म के गर्न सक्छु?मेरो क्षमता कती छ? बम्बेले यी प्रश्न हरेक मानिसलाई दिन्छ। अनुपलाई पनि दियो। अनुप भने यि प्रश्नदेखी अत्तालिएनन्। हातमा एनएसडीको गुणस्तरिय चिन्ह अंकीत प्रोफाइल, कम्मरमा पेजर, काधमा झोला बोकेर सुभास घइ, नसुरुद्धिन, इरफान खान, महेश भट्ट र सुधिर मिश्रालाई आफ्नो प्रतिभा देखाउन हिडिरहे।
बाहन थियो- लोकल ट्रेन। आइरन गरेका सफाचट् लुगा टे्रनबाट उत्रिदा मुजा परेका सिरकका खोलजस्ता हुन्थे। त्यसकालागी पनि अनुपसंग आइडिया थियो। उनी ब्यागभित्र सानो आइरन बोकेर हिड्थे। 'शुलभ शौचालय' को ऐनामा आफूलाई नियाल्थे। लन्ड्रीमा गएर आग्रह गर्थे- 'मसित आइरन छ। म मेरो सर्टमा आइरन लगाउछु, हुन्छ?'
'लक' भनेको यहि होला, कुनै लन्ड्रीवालाले पनि नाइ भनेन। यसरी हरेक निर्देशकको अफिसमा भौतारिदा अनुपले यस्ता मानिस पनि भेटे, जो निर्देशकका अगाडी आफ्नो 'कला' देखाउन बिसौ बर्षदेखी पालो कुरिरहेका छन्। र, ति सुनाउछन्, 'म बम्बे आउदा एकदम तन्नेरी थिए। कपाल पनि चिउडोसम्म झर्थ्यौ। अव हेर्नुस्, मेरो तालुमा कपालै छैन।'
अनुपले धेरै निर्देशकलाई भेटे तर उत्तर एउटै थियो, 'ल, राम्रो काम गर्दा रैछौ। यदि तिमीलाई सुहाउने कुनै रोल भेट्टियो भने सम्पर्क गरौला।'तर, अनुपको पेजर कहिल्यै बजेन। अनुपले त्यही भेटे, यसपाल शर्मालाई। जो अहिले पनि हिन्दी फिल्ममा भिलेन बन्छन्। यसपालले नै अनुपलाई सम्झाए- यदि बम्बेमा बस्नु छ भने कम्तीमा चार बर्ष संघर्ष गर्छु भन्ने आत्मशक्ति बनाऊ। एककप चियामा दिन बिताउछु भन्ने अठोट गर।
यसपालले अर्को कुरा पनि भने- कपाल खुइलिए खुइलियोस्, म लड्छु, तिमी सोच। यदि तिमीले जित्यो भने भोली तिमीलाई नै हेरेर फिल्मको भूमीका लेखीनेछ।'कुरा त मख्खै पार्ने खालको थियो।
एकदिन अनुप अशोकाको अडिशनमा पुगे। धेरैदिनसम्म पेजर बजेन र उनले सोचे, 'म अव यता बस्दिन।' बम्बेमा त यस्ता मान्छेमात्र संघर्ष गरिरहन्छन्, जसको फर्किने कुनै ठाऊ छैन। परिवार छैन। ति संघर्ष गर्दागर्दे सडकको छेऊमा मर्छन् र मुन्सीपाटीले उठाएर लैजान्छ। तर, अनुपसित त आफ्नै देश र परिवार थियो। जसले पर्खिरहेको पनि थियो। उनी फर्किए। काठमान्डूको अटेशमटेश भिडमा थपिए। जहाँ बम्बेबाट आएको टेलिफोनले भेट्न सकेन। 'हजार मिटरको दौडमा सामेल मान्छे किन सय मिटरमा दर्गुन आ'को?' जव अनुप काठमान्डूमा देखीए, यस्ता प्रश्नले ठुग्न थाले। हुनपनि, अनुप जुन कुरामा पोख्त भएर आएका थिए, त्यो मृतप्रायः नै थियो। नेपाली रंगमन्च मर्यो भन्नेहरु पनि थिए। अवसर थिएनन्। आफूले अभिनय गरेको पहिलो फिल्म 'अंशबन्डा' जीवनको एउटा कालो पन्ना भइसकेको थियो। नेपाली रंगमन्चका लागी जे गर्छु, भन्ने सपना थिए, ती हिड्दाहिड्दै फुर्लुङ ढल्छन् की जस्ता हुन थाले। तिनलाई जोगाउन गाह्रो हुनथाल्यो।
अनुप अमेरिकी लाइब्रेरी चहार्न थाले। 'फ्रेन्च अलाइन्स' डिल्लीबजारको क्यान्टिनमा पोतिएका चित्रहरुमा हराउन थाले। कोही भेटिहाल्यो भने गफ गर्यो। यसरी अनुप आफूभित्रको निरासा पखाल्थे। ०५२ तिरको काठमान्डूमा शहरमा हुने सबै चिज थिए। डिर्पामेन्टल स्टोर। ठूल्ठूला घर। पक्कि सडक। डिस्को। डान्सबार। नाइट लाइफ। अचानक देखीन थालेका मगन्ते। फोहरले भरिदै गएको बागमती। फन्टुस फिल्म। सबै थिए। तर, अनुपलाई सपनातिर डोर्याउने कुनै साघुरो गल्ली पनि थिएन। 'बौद्धिक खुराक छदै थिएनन्।' अनुप कफीको चुस्की लगाउदै सम्झन्छन्। अहिले अनुपसंग आफूले चाहेका धेरै चिज छन्। उनले गरेका नाटक 'नाट्य इतिहाँस'मा दर्ता छन्। 'एक्टर्स स्टुडियो' नाट्यस्कुलको अतित पनि छ। कुनै समय फेरि ब्युझन पनि सक्छ। धापासीको शान्त फ्ल्याटभित्रको टेवुलमाथी केही फिल्मका स्त्रिप्ट पनि छन्, जसमा उनले अभिनय गर्नेछन्। सपनाको नेगेटिभमा रंग पनि भरिन थालेको छ। 'सेपिया रंगको भएको छ।' अनुप मुस्कुराउछन्। र, आश छ, कुनै दिन आँखा तिर्मिराउने गरि रंगीन पनि होला। शहरमा अव सपना हराउने डर अनुपलाई छैन। कहिलेकाही भने झस्किन्छन्, कतै आफू स्यवं शहरमा हराउने त होइन? शहरका मामलामा अनुप अहिलेपनि आफूलाई 'आउट साइडर' मान्छन्। सारा शहर सिसाभित्र छ। शहर गफ चुटिरहेको छ- क्रियाकलाप हेर्दा लाग्छ तर आवाज भने अनुपसम्म आइपुग्दैन। त्यसैले आफू शहरको मान्छे भइनसकेको ठान्छन्। शहरले कति मोडमा सम्झौतागर्न लगाउछ। अनुप सम्झौता गरिरहेका छन्। प्रोफेसनल मित्रता धेरै छन्। अनुप सोच्छन्- म अहिले जिजीबिषाजस्तो मित्रता बाचिरहको छु।
'हाम्रा पाँच इन्द्रियहरु मर्दे छन्।' काठमान्डू बसाइमा अनुप यस्तै ठान्छन्, 'हामीसित निजी स्वार्थंमा बाच्ने न्यूकिलियर जेनेरेशन छ।'कहिलेकाही आफूलाई पनि शहरले आफूजस्तो बनाउदै त छैन? अनुप झस्कन्छन्- कतै मेरो निर्दोषपन मर्दे गइरहेको त छैन? बा र आमा पोखरामा एक्लै छन्। अनुपलाई थाहा पनि छ, बुढेशकालको एकान्तले आत्मा दुखाउछ। अुनप खाना खादा अचानक झस्किन्छन् पनि, उता घरमा बृद्ध बा र आमा मौन खाना खाइरहेका होलान्। 'म त्यहा हुनुपर्ने हो।' अनुप टोलाउछन्, 'तर जान सक्दिन।' अनुपले जती गरे, सबै आफ्ना लागी गरे। उनलाई थाहा पनि छ, मैले परिवारका लागी केही गर्न सकिन। धेरै समय केही गर्न नसक्नुको मौनतामा अल्भि्कएका अनुप अव भने मौनताबाट बाहिर आएका छन्। व्यस्तताले लखेटिरहेका अनुप फुर्सद हुदा भावुक पनि हुन्छन्। अव काठमान्डू छाडेर घर पोखरा जान गाह्रो छ, र बा र आमाको सम्झनालाई पन्छाउन सजिलो पनि छैन। 'म अझै पूर्णरुपमा शहरको मान्छे भइसकेको छैन।' अनुप एकछिन टोलाउछन्, 'कति पल्ट घर जादा आमाका आसुले मलाई पोलेका छन्।'