पर्साका सहायक प्रजिअमाथि गोली प्रहार, अंगरक्षकको मृत्यु

पर्साका सहायक प्रजिअ बलबहादुर मल्ललाई आज बिहान १० बजेर १० मिनेट जाँदा वीरगन्जको रानिघाटमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा उनका अंगरक्षक आनन्दराज खड्काको मृत्यु भएको छ। मल्ललाई गोलीको छर्रामात्र लागेको हुनाले उनी खतरामुक्त छन्। नागरिकन्युजकर्मी उपेन्द्र लामिछानेले जनाएअनुसार, क्वार्टरबाट कार्यालय जान कारमा चढ्दै गर्दा अज्ञात बन्दूकधारीले हानेको दुई वटा गोली अंगरक्षक खड्कालाई लागेको थियो। गोली लागेका खड्कालाई अस्पताल लाँदालाँदै बाटैमा मृत्यु भएको थियो। मल्ल भने कारभित्र बसिसकेका हुनाले गाडीको शिशा छेडेर छर्रा मात्रै उनलाई लागेको थियो। घटनालगत्तै स्थानीय एफएम रेडियोहरुमा फोन गरी संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाले यसको जिम्मा लिएको बताइएको छ।

कोइराला परिवारको जग्गाकब्जा गर्ने चेतावनी

विराटनगर, पुस २७ -विराटनगर-७ ब्रम्हपुरा टोलमा रहेको कोइराला परिवारको जग्गामा बस्दै आएका झण्डै ८० परिवारले मोहीयानी जग्गा पाउनुपर्ने अडान राखेका छन्। मोही जग्गा नामसारी नगरिदिए त्यहाँ रहेको कोइराला परिवारको १४ बिघा जग्गा कब्जामा लिने उनीहरुले धम्की दिएका छन्। पुस्तौदेखि सुकुम्वासीहरु उक्त जग्गा भोगचलन गर्दै आएपनि नामसारी गरिदिन कोइराला परिवारले आनाकानी गरेकाले उनीहरुको पूरै जग्गा कब्जा गर्ने मनस्थितिमा पुगेको उपेन्द्र कामतले आइतवार पत्रकार सम्मेलनमा भने। जंगल खनजोत गरी कोइराला परिवारले उपभोग गरिरहेको १४ बिघा जग्गा मध्ये ०४२ सालमा मोहीका नाममा दुई/दुई कठ्ठा जग्गा नापेर छुट्टियाइदिएका थिए। ८० परिवारले भोगचलन गर्दै आइरहेको कोइराला परिवारको करिब चार बिघा घडेरी जग्गा उनीहरुले नामसारी गरिदिन दबाब दिएका छन्। ‘५० औं पटक डेलिगेशन जाँदा पनि आजभोली भन्दै जग्गा पास गरिदिएन'-कामतले भने,‘हरसम्भव प्रयास गर्दापनि कोइराला परिवारले हामीलाई टेरेन।' कोइराला परिवारका सदस्य गिरिजाप्रसाद कोइराला, शेखर कोइराला, प्रकाश कोइराला, उनको श्रीमती नानु कोइराला, नोना कोइराला र सुरेश कोइरालाको नाममा रहेको उक्त टोलको एकसय १५ बिघा जग्गामध्ये सबै बेचेर हाल १४ बिघा मात्र बाँकी छ। जसमध्ये सुकुम्वासीहरुले चार बिघा जग्गा नामसारी गरिदिन दबाबदिदै आएका छन्।