३१ वर्षको मह यात्रा


कला क्षेत्रका सदाबहार बादसाह मानिने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मंगलबार ३१ वर्षको यात्रा पूरा गरेका छन्। महको यो यात्रा बाहिर देखिए जस्तै सधैँ सुमधुर रहेन। सम्बन्ध ३१ औं वर्षको अनुभव सुनाउँदै मदनकृष्णले भने- 'लामो यात्रामा रिसाउने त भइहाल्छ नि। दुवैले राम्रो सोच्छौं, चित्त नबुझ्दा कम्प्रोमाइज गर्ने बानी हाम्रो छ।' सम्बन्ध ३१ औं वर्ष पुगेको अवसरमा मदनकृष्ण श्रेष्ठले सुनाएको अनुभवः
छुट्टा छुट्टै क्षेत्र र उमेर समुहका हामीले सँगै काम थालेको ३१ वर्ष पुगेको छ। हरिवंश र मेरो लागि यो दिनको वशेष अर्थ छ। यो हाम्रो खुशीको दिन हो। धेरैले देख्छन् हाम्रो सम्बन्ध राम्रो र सुमधुर किसिमले अघि बढिरहेको छ। ३१ वर्षे यो यात्रा सधैँ सुमधुर मात्र रहेन। यो लामो यात्राका क्रममा हामी धेरै पटक रिसाएका छौं। मलाई हरिवंशका कतिपय कुराहरु चित्त बुझ्दैन। कतिपय मेरा कुराहरु उसले मान्दै मान्दैन। तर पनि हाम्रो यात्रा गज्जबले जमेको छ। म नेवार उ बाहुन। तर हामीमा जातीयताको कुनै गन्ध छैन। हामी एकअर्काप्रति बडो इमान्दार छौं। सबभन्दा पहिला पैसामा इमान्दार छौं अनि काममा । दुई जनामा काम गर्दा कम्प्रोमाइज हुन्छ।

कतिपय अवस्थामा आफूले चाहँदा चाहँदै पनि उसले राम्रै गर्न खोज्यो होला भनेर छाडिदिने बानी हामी दुवैमा छ। खासमा भन्नुपर्दा यो यात्रा यहाँसम्म आइपुगेपछि अहिले यसो सोच्दा लाग्छ हामीमा श्रीमान्-श्रीमतीमा जस्तो सहनशीलता पनि छ। आखिर एउटा घरका श्रीमान्-श्रीमती कसले नराम्रो सोच राखेको हुन्छ र ! कति कुरा उसले राम्रै गर्न खोज्यो होला भनेर विश्वासमा छोडदिन्छु। मेरा धेरै नराम्रा पक्षलाई उसले सही दिन्छ। कुरा नमिल्ने भनेकै बुझाइको कुरामा हो। आखिर हामी दुवैले राम्रै गर्न खोजिरहेका हुन्छौं। त्यस्तो बुझाइ नरहना साथ सम्बन्ध त विच्छेद भइहाल्छ नि।

सम्बन्धको ३१ वर्ष पूरा गरेकै दिन हामीले माओवादी नेता बाबुराम भट्टराईलाई भेट्यौं। मैले यही कुरा सुनाएँ। राजनीतिक सहमति खोज्नुभन्दा पहिले आफैँसँग सम्झौता गर्नोस् भने। सम्झौतापछि मात्र सहमति हुनसक्छ। कांग्रेस वा माओवादीले चाहेको मात्र संविधान बनाउने कोसिस भए त्यसले झगडा ल्याइहाल्छ नि। मैले आफ्नो कुरा आफ्नै किसिम लागू गर्दा हरिवंशलाई पनि सोध्नुपर्छ। उसका इच्छाहरु पनि बुझ्नुपर्छ। कतिपय कुराहरु उसका राम्रा हुनसक्छन्। हाम्रो एउटा सम्बन्ध छ भने जस्तै नेताहरुले यो देशको जिम्मेवारी मेरो हो भनेर बुझे हुन्थ्यो जस्तो लाग्छ। पार्टी पार्टीमा पनि सम्बन्ध हुन्छ। त्यसैले कसैले पनि यही हुनुपर्छ भनेर अड्डी कस्यो भने द्वन्द्व भइहाल्छ।

हाम्रो यो सम्बन्धको यात्रा सधैँ एकै रहेको छैन। अलि अलि तल वा माथि भए पनि हामी सधैँ न्युनतम विषयमा इमान्दार नै हुन्छौं। ती विषयले हामीलाई सधैँ जोडिरहेको हुन्छ। दलहरुमा पनि त्यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्छ। बाबुराम भट्टराईले आज हामीलाई १ मे को प्रदर्शनमा हिंसा हुँदैन भनेर खुब आश्वस्त पार्न खोजे। नेताहरुको बोलाइ र गराइमा सधैँ भिन्नता देखिँदै आएको छ खै के हुने हो!

No comments:

Post a Comment