मोडलिङबाट फिल्मतिर

काठमाडौं, - नयाँ पुस्ताका निर्देशकहरूले म्युजिक भिडियो र र्‍यापका मोडललाई फिल्ममा उतार्ने क्रम बढ्दैछ। यो वर्ष मोडलिङ जगतका तीन स्थापित मोडलहरू फिल्ममा प्रवेश गरे- जेनिशा मोक्तान, सिजन भट्टचन र बिमलेस अधिकारी। यो वर्षकी मिस नेपाल जेनिशा केहीअघि रिलिज भएको सुदर्शन थापाको फिल्म 'मेरो एउटा साथी छ' मार्फत् रजतपटमा देखिएकी हुन्। यो फिल्ममा उनी सहायक भूमिकामा देखिएकी छिन्। जेनिशा मिस नेपाल घोषित हुनुअघि नै यो फिल्म रिलिज भइसकेको थियो।

उदय सिजापतिले निर्देशन गरेको फिल्म 'रंगिन मनसाय'बाट सिजन भट्टचन हिरोइन बन्दै छिन्। गायक निमा रुम्बाले निर्माण गरेको यो फिल्म रिलिज हुन बाँकी छ। बिमलेश भने निर्देशक बसन्त पौडेलको फिल्म 'स्वर'बाट हिरो बन्दैछन्। र, यसैवर्ष यिनलाई पछ्याउँदै अरू पनि थुप्रै मोडल फिल्ममा देखिँदैछन्।

नेपाल भाषाको फिल्म 'राजमति'मा पहिलोपटक दुई मोडल मणिराज लवट र हिसिला महर्जनले अभिनय गरेका छन्। त्यसयता झरना बज्रचार्य, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, उषा रजक, निशा अधिकारी, दिया मस्के, जीवन लुइँटेल, पूजा लामा, ऋचा घिमिरे र पूजना प्रधानलगायतले ठूलो पर्दामा आफ्नो भाग्य जाँचिसकेका छन्। मोडलिङबाट फिल्ममा आएका कलाकारका तुलनामा रंगमञ्चबाट वा सोझै फिल्ममा आएका कलाकारले सफलता पाएका छन्।

भुषण दाहाल, आलोक नेम्वाङ र सिमोस सुनुवारजस्ता म्युजिक भिडियोका निर्देशकले फिल्म बनाउँदा मोडलहरूलाई नै कलाकार लिए। आलोकको 'सानो संसार'मा कर्मा, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र जीवन लुइँटेल चार मोडल एकसाथ कलाकारका रूपमा देखा परे। सिमोसको 'मिशन पैसा'मा पनि निशा अधिकारी र आयुषा बस्नेत हिरोइन बने भने अर्का मोडल अमिर गौतम भिलेन। भुषणको 'कागबेनी'मा दिया मास्के हिरोइन बनिन्।

प्रायः निर्देशकहरू म्युजिक भिडियोमा अभिनय गरेका कारण मोडलहरू फिल्ममा पनि सजिलै फिट हुने बताउँछन्। निर्माता एवं निर्देशक अशोक शर्मा त नेपाली फिल्मलाई थप मोडल कलाकारको जरुरत भएको बताउँछन्। उनी भन्छन्, 'अहिले नेपाली फिल्मको कथा सहरमा केन्द्रित हुन थालेको छ। यस्ता फिल्ममा सहरको शैली भएका कलाकार चाहिन्छन्। र, मोडलहरू यसमा सबभन्दा बढी सुहाउँदा रहेछन्।' तर फिल्ममा लागिसकेपछि मोडलहरू पूर्ण फिल्म कलाकार बन्नुपर्ने उनको धारणा छ।

मोडलबाट हिरो बनेका बिमलेश म्युजिक भिडियोमा गरेको अभिनय र र्‍याम्पको प्रस्तुतिका कारण आफूलाई फिल्ममा अभिनय गर्न गाह्रो नभएको बताउँछन्। 'फिल्ममा पनि म्युजिक भिडियोमा जस्तै स्त्रि्कप्टअनुसार अभिनय गर्ने हो, शैलीमा मात्र फरक छ,' उनले भने।

फिल्ममा जम्न नसक्ने पूराना मोडलको 'रेकर्ड'लाई यी नयाँ मोडल कलाकारले तोड्न सक्ने हुन् कि होइनन, यिनका फिल्म आएपछि नै थाहा होला।

No comments:

Post a Comment